Logo
Logo

गृह र प्रहरीको टकराव सतहमा, नयाँ आईजी थापाको चुनौती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्बन्ध चिसिएको छ । प्रहरी संगठनलाई कमजोर बनाउने भूमिका गृह मन्त्रालयले खेलेको भन्दै प्रहरी अधिकारीहरु रुष्ट भएका छन् ।

महानिरीक्षकबाट आफ्नो बिदाइको क्रममा ठाकुरप्रसाद ज्ञवालीले सार्वजनिकरुपमै गृह मन्त्रालयको आलोचना गरेपछि यो विषय अहिले चर्चामा छ । गृहले अभिभावकत्वको भूमिका बिर्सिएको ज्ञवालीको आरोप छ । उनको भनाइ थियो, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले नेपाल प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरी रहेका हुन्छन् ।’

पछिल्लो समय गृह मन्त्रालयकै कारण प्रहरीमा हस्तक्षेप बढेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीलाई बलियो बनाउने भन्दै गृह मन्त्रालय प्रहरीको सरुवा–बढुवामा केन्द्रित भएको छ । राजनीतिक शक्तिकेन्द्रको आडमा आर्थिक चलखेलका आधारमा सरुवा–बढुवा हुन थालेपछि प्रहरीमा राम्रा अधिकृतहरु पछिपरेका छन् भने, भ्रष्टहरुको शक्तिशाली बनेका छन् ।

गृहको हस्तक्षेपका कारण नै आजित भएर ज्ञवालीले अवकाशको बेला प्रहरी जीवनमा आफ्नो तीतो अनुभव खुलारुपमा पोखेको प्रहरी अधिकारीहरु बताउँछन् । भाषणका क्रममा उनले अवसरवादी र पदलोलुप प्रहरी अधिकृतहरुको पनि आलोचना गरे । स्रोतका अनुसार महानिरीक्षक ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानको सम्बन्ध सुरुदेखि नै राम्रो हुन सकेन । डिआईजीको दरबन्दी कटौतीको बेला दुईबीच भनाभन नै भएको थियो ।

पछि बढुवा तथा सरुवामा गृह तथा अन्य शक्तिकेन्द्रबाट अत्याधिक दबाब झेल्नुपरेको ज्ञवालीले आफ्ना सहकर्मीसँग बताएका थिए । कतिसम्म भने प्रहरीको कतिपय ठेक्कामा समेत केही व्यापारीहरुले उच्चपदस्थबाट दबाब दिएको स्रोत बताउँछ । त्यहीकारण उनले प्रहरीमा केही समूहले रजगजको प्रयास गरिरहेकाले त्यसविरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।

नयाँ महानिरीक्षकका चुनौती

यसरी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्बन्ध बिग्रिएका बेला नेपाल प्रहरीमा नयाँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । २२ महिनाका लागि नियुक्त भएका क्षेत्री निष्ठावान प्रहरी अधिकृत मानिन्छन् । त्यसकारण उनीबाट संगठनले धेरै अपेक्षा गरेको छ ।

तर, उनीमाथि पनि गृह मन्त्रालयको हस्तक्षेप सुरु भइसकेको स्रोत बताउँछ । खासगरी एआईजी बढुवामै उनी समस्यामा परेका छन् । हाल एआईजीका दुई दरबन्दी रिक्त छन् । जसमा बरिष्ठता र कार्यक्षमताका आधारमा नीरजबहादुर शाही र प्रद्युम्न कार्की प्रमुख दाबेदार हुन् । उनीहरु प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचमेट हुन् । दुवै जना अब्बल अधिकृत मानिन्छन् । तर, जुनियर डिआईजीहरुले अनाबश्यक दबाब दिएपछि महानिरीक्षक क्षेत्री समस्यामा परिसकेका छन् । त्यसकारण एआईजी बढुवामै उनको नेतृत्व क्षमता परीक्षण हुने छ ।

प्रहरी महानिरीक्षक कति सफल हुन्छ भन्ने कुरा उनले गर्ने सरुवा बढुवाबाट पनि मापन गरिन्छ । पछिल्लो समय शक्तिकेन्द्रहरुमा सरुवा र बढुवाको सूचि बन्न थालेको छ । यस्तो अवस्थामा निष्पक्ष मूल्याङकन नै महानिरीक्षक क्षेत्रीको लागि प्रमुख चुनौती हुनेछ । संगठनलाई व्यावसायिक बनाउने हो भने, शक्तिकेन्द्रहरुका सिफारिसलाई उनले विस्तारै माइनस गर्न सक्नुपर्दछ ।

उनको अर्काे चुनौती भनेको प्रहरी समायोजन हो । सम्भवतः उनकै कार्यकालमा प्रहरी समायोजन हुने छ । समायोजनको विषयमा उनी जानकार छन् । डिआईजी हुँदैदेखि उनी त्यससम्बन्धि कार्यदलमा बसेर काम गरेका थिए । त्यसकारण प्रहरीलाई बलियो बनाउने गरी समायोजन आवश्यक हुन्छ ।

हुन त क्षेत्रीले केही सकारात्मक पहल थालेका छन् । प्रहरी महानिरीक्षकमा केन्द्रीत अधिकार उनले बिकेन्द्रीत बनाउने प्रयास गरेका छन् । कपडा लगायत सामान खरिदमा प्रहरी महानिरीक्षक मुछिने गरेका थिए । तर, उनले यसबाट आफू टाढा रहेन बताएका छन् । प्रदेशहरुलाई समेत सामान खरिदको अधिकार दिइने बताएका छन् ।

त्यस्तै, प्रदेश प्रहरी कार्यालयलाई इन्सपेक्टरसम्मको सरुवा अधिकार दिन लागिएको छ । यसलाई प्रहरी अधिकारीहरुले सकारात्मक मानेका छन् । आईजिपीका अर्का प्रतिस्पर्धी हरिबहादुर पालसँग मिलेर जाने भद्र सहमति गरेको र आफू संस्थागत निर्णयका आधारमा अघि बढ्ने उनले प्रष्ट पारेका छन् ।

क्षेत्री गुटबन्दीमा रमाउने अधिकारी होइनन् । तर, नरम स्वभावका कारण कतिपयले उनले कमाण्ड गर्न समस्या हुन सक्ने समेत टिप्पणी गरेका छन् । आफू विनम्रतालाई कमजोरी नठान्न उनले चेतावनी दिएका छन् । त्यो चेतावनी मात्र हो वा व्यवहारमै उतार्नेछन् त्यो भने उनको कार्यशैलीबाटै मूल्याङकन हुने छ ।

अभिभावकत्व निर्वाह गर्नु पर्ने संस्थाले आफ्नो भूमिका बिर्सियो

ठाकुरप्रसाद ज्ञवाली, निवर्तमान प्रहरी महानिरीक्षक

नेपाल प्रहरीलाई एकढिक्का र मजबुत भएको देख्न नचाहने समूह र शक्तिहरूले सदैव यो संगठनलाई यसैगरी अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत रहने गरेका छन् । सरुवाका लागि, बढुवाका लागि, काजका लागि, तालिमका लागि हाम्रा कर्मचारीहरू घाइते मृगजस्तै रनवन बरालिनुपरेमा त्यो जनशक्तिको आफ्नो संगठन र नेतृत्वप्रतिको श्रद्धाभाव क्षीण हुँदै जान्छ र त्यसको पीडा अन्ततः सेवा प्रवाहमा देखिने अकर्मण्यताका कारण आम नागरिकले बेहोर्नुपर्ने हुन्छ ।

यसमा केही दोष हाम्रो पनि छ, हाम्रो जनशक्तिको समस्या हामीले सम्बोधन नगरेमा उसले अनेक बाटो खोज्दै हिँडनु स्वाभाविक पनि हो तर केवल व्यक्तिगत हित र लाभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दबाबले संगठनलाई कदापि भलो गर्दैन र संगठनको कुभलो हुँदा एउटा व्यक्ति वा पात्र लाभान्वित हुनुको म कुनै ठूलो अर्थ पनि देख्दिनँ ।

कुनै पनि मुलुकको शान्ति सुरक्षाको अवस्था राजनैतिक सबलतासंग जोडिएको हुन्छ । राज्यको सुरक्षा प्रबन्ध प्रति नागरिकले विश्वास गर्न छोड्नु, राज्यका लागि सबैभन्दा ठूलो नैतिक चुनौती हो ।

राज्यको आन्तरिक सुरक्षाको बन्दोबस्तीका लागि अग्रस्थानमा परिचालित प्रहरीमा नागरिक आँखाले राज्य देखेको हुन्छ । कुनै पनि नागरिकको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने सार्वजनिक सेवाको जिम्मा पनि राज्यले प्रहरीलाई सुम्पेको हुन्छ ।

नागरिक सुरक्षा संयन्त्रको महत्वका बारेमा यहाँ विश्लेषण गरिरहँदा नेपाल प्रहरी भने आन्तरिक र बाह्य स्वार्थको संयोजन गर्ने निहुँमा विगतका गलत नजिरलाई पछ्याउँदा सांगठनिक मर्यादा जोगाउने अनेकौँ अवसरबाट बन्चित हुन पुगेको छ । त्यसमा पनि हाम्रो अभिभावकत्व निर्वाह गर्नुपर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले नेपाल प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरिरहेका हुन्छन् ।

नियम र कानुन तर्जुमा गर्ने स्थानमा रहनेहरुले स्पष्ट रूपमा बुझ्न जरुरी छ । यस संगठनको व्यावसायिक निष्पक्षतासँगै कानुनी राज्यका आधारहरू मजबुत हुँदै जाने हुन र त्यसले आखिरमा हित हुनेभनेको राज्य र आम नागरिकको नै हो । जबसम्म प्रहरीका प्रशासनिक निर्णयहरुमा प्रभाव र दबाब कायम रहन्छ, त्यसले प्रहरीलाई आलोचनाको शिकार बनाइरहन्छ र त्यो आलोचनाले अन्ततोगत्वा राज्यको विश्वसनियता सखाप पार्छ ।

केही पाउनको लागि आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने पदलोलुपहरुको जमातको कमी नभएकाले इमानदार र रनवन नचाहर्ने प्रहरी कर्मचारीहरु थप प्रताडित भइरहने परिवेशलाई ‘डिसरुप्ट’ गर्न नयाँ नेतृत्वलाई साथ र सहयोग दिन सरोकारवाला पक्षहरूलाई आग्रह गर्न चाहन्छु ।

केही वर्ष पहिला सम्म सबैको हात हातमा रहेको कुनैब्राण्डकामोबाईल किन आज विलुप्त छ, प्रहरी कर्मचारीद्वारा भएको एउटा घटनाका कारण किन आज अमेरिकामा ‘डिफन्ड त पुलिस’ सम्मको नाराहरू लाग्न थालका छन् ? प्रहरीको नेतृत्वगर्नेले समयमै यसको विश्लेषण र रणनीति तर्जुमा गर्न आवश्यक छ ।

(बिदाइ कार्यक्रममा ज्ञवालीले राखेको विचारको अंश)

प्रतिक्रिया दिनुहोस्