Logo
Logo

संकटमा ‘महानायक’, संरक्षणमा जुलुस


- सइन्द्र राई


  • सइन्द्र राई

यो आलेख तयार गरिरहँदा केही वर्ष यता ‘सूपरहिट’को संज्ञा पाइरहेकी एक कलाकार डिप्रेसनमा गएको खबरले बजारको ठूलै हिस्सा हल्लिएको छ । उनको पक्ष र बिपक्षमा गगनभेदी बहस चुलिएको छ । डिप्रेसनमा गएकी भनिएकी दीपाश्री निरौला माथि मुलुतः सामाजिक सञ्जाल मार्फत् आक्रमण रोकिएको छैन । दीपाश्री माथि मात्रै होइन, उनको समर्थनमा चुइक्क बोल्ने प्रयास मात्रै भए पनि जोकोही सकुशल बच्नेवाला देखिन्न । जबकी स्वयम् दीपाश्रीले नै भूलबस कुनै अन्तर्वार्तामा राजेश हमालको ‘महानायक’ पदवीबारे गलत अभिव्यक्ति दिन पुगेको भनी माफी मागिसकेकी छन् । तर, मानौं– उनको माफीले मात्रै सच्चिने अपराध हुँदै होइन, यो ।

सामाजिक सञ्जाल, आमसञ्चार माध्यम र स्वयम् ‘सचेत नागरिक’को पदवी धारण गरेका पंक्तिहरूको बहस दीपाश्री ‘सही वा गलत’ मा केन्द्रीत छ । मानौं– यस बेला समाजसँग गर्नुपर्ने बहस, देखाउनुपर्ने तत्परता र खटिनुपर्ने कार्यक्षेत्र अरू कतै बाँकी छैन । त्यसैले त हामीलाई लाग्दैछ– राजेश हमालको ‘महानायक’ पदवी संकटमा परेको छ । यसबेला यो बारे नबोल्ने हो भने फेरि यस्तो अवसर आउनेवाला छैन । सदाका लागि ‘महानायक’ पदवीको आकर्षण, समर्पण र श्रद्धा सकिएर जानेछ । फेरि भोलि बहस गर्न पाइने छैन, ‘महानायक’ पदवी एकाएक बिलाएर अलौलिक हुनेछन् ।

यदि, त्यसो नहुँदो त भूलबस कुनै अन्तर्वार्तामा भनिएको शब्दलाई लिएर कोही डिप्रेसनमै पुग्नेगरी पक्कै पनि आक्रमणमा उत्रने थिएनौं । हुन त अहिले राजेश हमाल बारेको टिप्पणी मात्रै होइन, बजारमा जस्तो बहस र अभियान चलेको छ, त्यी सवैको सारांश एउटै छ– ‘महानायक’ संकटमा छन् ।

‘महानायक’ संरक्षणको चिन्ता, बहस र अभियान जसरी चलेको छ, त्यसले कोभिड–१९ महामारीको संकट र बिनाशकारी प्राकृतिक प्रकोपको पीडा समेत ओझेलमा परेको छ । यदि, कोभिड महामारीद्वारा सिर्जित समस्याकै बीच निम्तिएको प्राकृतिक बिपत्ति बारे थोरै पनि अनुभूति हुन्थ्यो भने सायद ‘महानायक’ को बहस गौण हुने थियो । गल्ती पछाडि माफी सँगै विवाद बिलाएर जाने थियो ।

कोभिड महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र र आउन सक्ने संकट समाधान तर्फ सत्तारुढ युवाहरू बीच बहस, तत्परता र प्रबिद्धता हुने थियो । माक्र्सवादलाई मार्गदर्शन मान्ने पार्टीका युवाहरुले गर्नुपर्ने दायित्व र कार्यभार पनि यिनै हुन् । तर, त्यसो भएको देखिदैन । बरू कोभिड महामारीको त्रासकै बीच बाढी, पहिरो र डुबानले सयौं मानिसको ज्यान लिइरहँदा, उत्तिकै संख्यामा बेपत्ता र हजारौं प्रभावित भइरहँदा सत्तारुढ युवाहरू बालुवाटार कसरी बलियो बनाउने भन्ने चिन्तामै मग्न छन् । अर्थात्, ‘महानायक’ माथि कसैले धावा बोलिदिएको छ र जोगाउनुपर्नेछ उनको पदवी ।

तर, त्यसो हुनेवाला छैन । किनभने, मुलुकका कार्यकारी प्रमुखका तर्फबाट जस्तो संकेत र सन्देश दिइदैछ, त्यसको समाजमा बहुआयामिक अनुशरण हुनु अनौठो होइन । विश्वव्यापी कोभिड महामारी रोकथामका लागि सर्वसाधरण तीन महिना लामो लकडाउनमा बसिरहँदा प्रधानमन्त्री निकटस्थहरू भने राजधानी उपत्यका सहित देशका प्रमुख शहरहरुमा नारा जुलुस सहित उत्रिएको दृष्य केही दिन अगाडिको मात्रै हो ।

बिडम्बना ! संक्रमणको जोखिम बढाउँदै ती युवाहरू जनताको स्वास्थ्य चिन्ताका लागि सडकमा निस्किएका थिएनन् । उनीहरू त दुई तिहाइ नजिक संसदीय जनमत प्राप्त शक्तिशाली प्रधानमन्त्री कमजोर नहुन् भन्ने उद्देश्यका खातिर सडकमा उत्रिएका थिए ।

कोभिड महामारीको कुनै पर्वाह नगरी सडकमा निस्कन विवश हुनुको पछाडि उनीहरूमा एउटै चिन्ता थियो– अरू जेसुकै होओस्, तर प्रधानमन्त्री ओली अन्यायमा पारिनु हुन्न । अर्थात्, अहिले कोही कमजोर हुँदैछन् भने त्यो प्रधानमन्त्री ओली नै हो । गरिनुपर्ने चिन्ता प्रधानमन्त्रीको हो । सायद, प्रधानमन्त्री जति शक्तिशाली छन् अझ शक्ति नथप्ने हो भने मुलुक उभो लाग्नेवाला छैन ।

यदि, त्यस्तो निष्कर्ष नहुँदो त कोभिड महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र र आउन सक्ने संकट समाधान तर्फ सत्तारुढ युवाहरू बीच बहस, तत्परता र प्रबिद्धता हुने थियो । माक्र्सवादलाई मार्गदर्शन मान्ने पार्टीका युवाहरुले गर्नुपर्ने दायित्व र कार्यभार पनि यिनै हुन् । तर, त्यसो भएको देखिदैन । बरू कोभिड महामारीको त्रासकै बीच बाढी, पहिरो र डुबानले सयौं मानिसको ज्यान लिइरहँदा, उत्तिकै संख्यामा बेपत्ता र हजारौं प्रभावित भइरहँदा सत्तारुढ युवाहरू बालुवाटार कसरी बलियो बनाउने भन्ने चिन्तामै मग्न छन् । अर्थात्, ‘महानायक’ माथि कसैले धावा बोलिदिएको छ र जोगाउनुपर्नेछ उनको पदवी ।

हो, प्रधानमन्त्री पार्टी भित्रको शक्ति समीकरणमा पक्कै कमजोर बनेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश, आकस्मिक मन्त्रिपरिषदबाट वर्षे अधिवेशनको अन्त्य, मन्त्रीहरुलाई नै बोलाएर कित्ता प्रष्ट पार्न निर्देशन जस्ता प्रधानमन्त्रीको कदमले नेकपाभित्र उनको अवस्था बलियो नरहेको प्रष्ट हुन्छ । तर, यसको समाधान राजनीतिक रुपमै खोजिनुपर्छ । फेरि पनि राजनीतिक स्थिरता कायम हुनुपर्छ भन्नेमा कसैको दुईमत रहन्न ।

यसको अर्थ सिंगो मुलुक र तीन करोड जनताकोे स्वास्थ्यमै खेलबाड हुने किसिमको गतिविधिमा सत्तारुढकै युवाहरु सडक उत्रनुले के सन्देश जान्छ ? त्यो पनि आफ्नै दलका नेताहरुलाई ‘भारतीय दलाल’को अभियोगयुक्त जुलुस लगाउँदै । यसको एउटै निष्कर्ष निस्कन्छ– ‘महानायक’ नभए मुलुक चल्नेवाला छैन ।

अनि राजनीतिमा, चलचित्रमा, खेलकुदमा, समाजसेवामा जताजतै ‘महानायक’ को खोजी हुनेछ । त्यस्तो ‘महानायक’को खोजीले अहिले जस्तो व्यवस्था अवलम्बन गरेका छौं, त्यसको ठीक उल्टो दिशामा हामीलाई लैजानेछ । सवैभन्दा माथि, शक्तिशाली र सुपरस्टारको खोजीले पुगिने भनेकै राजा नभए मुलुक रहन्न भन्ने निष्कर्षमा हो ।

तर, त्यस्तो बेला राजनीतिक संघर्ष मार्फत प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधानद्वारा अंगीकार गरिएको गणतन्त्र, बहुलवाद र विधिको शासन चाहिँ कमजोर हुनेछ । किनभने, संविधानको दृष्टिमा सबै बराबर हुन् । तर, अहिले देखिएको सोंच, प्रवृत्ति र चिन्तन भने अग्रगामी देखिएको छैन । अर्थात्, संविधानको भावना मुताविक छैन । फेरि पनि समाजलाई डो¥याउने भनेको राजनीतिक शक्तिले नै हो । अझ अहिलेको सन्दर्भमा सत्तारुढ नेकपाबाटै थालनि हुनुपर्नेछ– प्रणाली बलियो बनाउने कि ‘महानायक’ को खोजी गर्ने ?

अन्यथा, विश्वव्यापी महामारी र प्राकृतिक प्रकोपको सन्त्रास बीच प्रधानमन्त्रीको पक्षमा जुलुस निकालेर लोक हसाउँनेहरुले त बनिबनाऊ राजनीतिक जवाफ देलाउन् तर, त्यसैको प्रतिविम्व भूलबस गल्तीले अभिव्यक्ति दिदैमा डिप्रेसनमा जानुपर्ने नियति कसले रोकिदिने ?

प्रतिक्रिया दिनुहोस्