Logo
Logo

अप्ठेरो मोडमा जीवन


- बिन्दिया प्रधान


  • बिन्दिया प्रधान

अप्ठेरो मोडमा छौँ हामी । जीवनमा यस्तो अनुभव कहिल्यै भएको थिएन । पछाडि फर्कन मन नमान्ने । अगाडि बढ्न परिस्थितिले नदिने । जबकि लामो प्रतिक्षाको अन्त भएको छ । बन्द ढोकाहरु खुलेका छन् । तर मानौँ खुला ढोकाभित्रको संसार माकुराका जालो, फोहोर र धुलोधँुवाले भरिएको छ । कोरोना लकडाउन खुलेपछि ठिक यही अनुभूतिमा छौँ हामी । कोरोना मुक्त भनिएका देशहरुमा फेरि त्यो फर्केर आउने क्रम जारी नै रहेकाले केही भन्न नसकिने अवस्थामा विज्ञहरु अन्योलमा छन । त्यसैले निर्धक्क छैनाँै र डर हामीसँगै छ । कोरोना हाम्रो वरिपरि नै छ । आफ्नै हातका औँलाहरु, नङका टुप्पाहरु सुरक्षित छैनन् । आफ्नै हाच्छियूँ र खोक्दा अनि, घाँटीको खसखसमा समेत डरको मनोविज्ञानले त्यसै नमिठो पीडासहित सूल बिझेझँै हुन्छ । संक्रमण जतिबेला पनि सार्न सक्ने आफ्नै शरीरका अंगहरुसँग, आफन्तहरुसँग तर्सिएर संसारका प्रत्येक मान्छेले उही र उस्तै गरी एकैपटक अनि एकैखाले समस्या भोगेको यो शायद पहिलो हो । संसार नै एक अप्ठेरो मोडमा अड्किएको छ अहिले ।

सरकार कहाँ छ र के गरिरहेको छ ? पानीको फोकाजस्तो अहिले फुट्ला, भरै फुट्लाझैँ गरेर आपसी झगडामा नै व्यस्त छन । यस्तोमा के आशा गर्ने भनी धेरै निरास नै भएका छन् । टुट र फुटको अनि लेनदेनको घृणित खेल हेर्दै आजित भइसकेका हामी फेरि घुमीफिरी जहाँको त्यहीनै पुगेका छौँ । कोरोना र अहँको लडाइँ उस्तैउस्तै छन् । अलिकति हार मान्न कोही तयार छैनन् । अहिलेको कोभन्दा को कमहरुको लडाइँ हेर्दा अनि देशको यस्तो संवेदनशील अवस्थामा पनि आपसी झगडामा रुमल्लिरहेका राजनीतिक दल र आफ्नै अस्तित्वको खोजीमा रहेको सरकारलाई हेर्दा अर्को प्रश्न गर्न मन लाग्छ कि हामी बारम्बार सरकार बनाउँछौँ जोगाउँछौँ । तर, सरकारले हामीलाई जोगाउँछ कि आफ्नै कुर्सीलाई ?

अविरल वर्षा पहिला पनि थियो । बाढीपहिरोको जोखिम र क्षति सधैँको हो । बिनासकारी भूकम्पले यो झन् बढेको छ । तर यो कोरोना कहाँबाट आयो ? जो कहिल्यै थिएन । र कहिल्यै जाँदैन । जीवन त एक दिन सबैको सकिने सत्य तथ्य नै थियो । अचानकै जीवनयात्रामा अन्त किन ? असामयिक पूर्णविराम नै किन ? यी असन्तोषहरुको, यी प्रश्नहरुको चित्तबुझ्दो जवाफको कुनै किनारा भेटिने छाँट छैन । सुस्ताउने कुनै चौतारी पनि देखिने छनक नै छैन । आज जीवन नितान्त एक्लो छ । सावधानी अपनाउँदै आफैँ जोगिनु एकमात्र उपाय भएको छ । तर जोगिएका छौँ अथवा छैनौँ त्यो पनि हामीलाई थाहा छैन ।

नकारात्मक असरलाई तानतुन पारेरै आत्मबलले जितेरै सकारात्मक आँखाले हेर्न प्रेरणा प्राप्त होस् भनी कति लेखियो । कोरोनाको सकारात्मक पाटो भनेर पानाहरु भरिए । तर सँगसँगै नकारात्मक पाटोले पच्छ्याइरह्यो ।

काठमाडाँैमा घर बनाएको ३८ वर्ष भएछ । हरेक वर्षामा घर अगाडिको सडक हिलाम्य खेत हुन छाडेको छैन । राजधानीको यो महानगर निवासी म सांसद भवन नजिकैको एक भित्री सडकमा जीवनका अधिकांश वर्षहरु हिलो र धुलोमा बिताइरहेछु निरन्तर । युवाअवस्थादेखि बुढ्यौलीको संघार पार गरिसक्दा पनि अधिकांश हामीहरुलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन सधैँको धौधौ उस्तै । महंगी र कुपोषण अनि रोग र प्रदूषण । किनकि मुद्रास्फितिसँगैको जीवनशैली हाम्रो । जीवनको पुनरमूल्यन भएको कहिल्यै थाहा छैन । जीवनशैली जे जस्तो होस् आफ्नो पौरखमा बाँच्नुको आत्मसन्तुष्टि त हुन्छ । तर यो अचानकको बाधा ब्यवधानले बाँच्नु पनि अपुरो अपुरो भइदिएको छ ।

जीवनयात्रामा कोरोना कहर थपिएको छ । अविरल वर्षाले देश डुबिरहेको छ । पहाडहरु खस्दै घर र जीवनलाई सोहोर्दा मृत्यु र बिछोड फेरि थपिदो छ । यी सबै अप्ठ्यारालाई झेल्दाझेल्दै हामीलाई गाह्रो भइरहेको छ । मध्य वर्षादको हिलो फोहोरका बीच फेरि डेंगु र मलेरियाको चेतावनी र सजगता अपनाउनुपर्ने सूचनाहरु जारी भएका छन् । यी सबै रोगसँग लड्न शरीरको इम्यून सिष्टम अर्थात् प्रतिरोधात्मक प्रणाली बढाउन माछामासु, फलफूललगायत अन्य आवश्यक पौष्टिक पदार्थ खान र परिवारलाई खुवाउन जरुरी छ । यस्तो भनाइ बारम्बार आइरहन्छन् । भएको रोजगारी र आम्दानी पनि अचानकै गुमाएका धेरैले अहिले बिहान बेलुकीको छाक टार्न साधारण दालभात जुटाउन नै गाह्रो भइरहेको बेला पौष्टिक खानेकुरा प्राथमिकतामा पर्दैन बरु भोक टार्न नै ठूलो कुरा हुन्छ ।

यी र यस्ता अप्ठेरोले तनावको मात्रा आकाशिएर आत्महत्याको शरणमा पुगेका हजाराँै उदाहरणहरु खबर बनेर पत्रपत्रिका तथा सामाजिक सञ्जाल भरिन्छन् । यो पढेर देखेर दैनिकीसँग अनि जीवनसँग लडिरहेका र सफल नभइरहेका अन्य धेरै कमजोर मनस्थितिहरु अझ डराएरै सोचेरै मानसिक बिरामी भएका छन् र त्यसैत्यसै पासोमा झुण्डिरहेका छन् । मृत्यु अनि पारिवारिक बिछोडका श्रृंखला कति लामो जाने हो कसैलाई थाहा छैन ।

कारोबार चौपट हुनुसँगै सांग्लोझै गाँसिएर आएका यसका असरले धेरै क्षेत्रहरु तहसनहस नै भएका छन । शहरमा चहलपहल त बढेको देखिन्छ । मान्छेको भीड र सडकमा ट्राफिकजाम पनि बाक्लै हुन थालेका छन् । तर खै त्यो अपुरो अपुरो तरकारीमा नुन नपुगेको जस्तो खल्लोखल्लो । चोकचोकका व्यवसायका ठूला साइनबोर्डहरु बिस्तारै हट्न थालेका देखिन्छन् । चर्को भाडा लिएरै भए पनि काठमाडौँका भीडलाई नै लक्षित गरी खोलिएका कतिपय व्यवसायहरु अहिले यो ६ महिनाको दौरानमा घरभाडा तिर्नै नसकेर कोही भूमिगत भएका छन । कति चाहिँ रोइकराइ गर्दा घरधनीले एक महिनाको भाडा छाडिदिएकाले बाँकी चार÷पाँच महिनाको भाडा जुटाउन मरेर सकस गरिरहेका छन् । त्यति गरेर बल्ल व्यवसाय खोलेका ब्यवसायीहरु घाटमा मुर्दा कुर्नुको नियति भोगिरहेका छन् । ठूला सपिङमलहरुको बेहाल छ । बैंक कर्जामा निर्माण भएको आलिशान शहरको हालखबर यस्तो छ । यो असरले बैंकहरु पनि प्रभावित भएका छन् । नहुनेहरुको दर्दनाक कथा सार्वजनिक नै छ । बैंकमा खाता हुनेहरुकै पनि एकैपटक आम्दानी घटेको छ पाइरहेको ब्याजदर घट्दा । मार सबैलाई छ । मात्रा मात्र धेरै वा थोरै होला ।

यसरी कैयन अप्ठेराहरु हाम्रो जीबनका अभिन्न अंग भएको छ । सहेर र धैर्य गरेर राज्यलाई सरकारलाई सघाई रहेकै छौँ । हेरेक कुरामा कर तिरिहेका छौ । अति अप्ठेरोमा पनि सहनु र धैर्य गरी बाँच्नु राज्यलाई सरकारलाई सघाउनु नै हो । तर प्रश्न उठ्छ सहने र धैर्य गर्ने सीमा कतिसम्म र कहिलेसम्म ? साना–ठूला सबै प्रतिक्षामा छन् सरकारी नीतिले अझ राहत वा सहुलियत केही देला नै भनी ।

तर सरकार कहाँ छ र के गरिरहेको छ ? पानीको फोकाजस्तो अहिले फुट्ला, भरै फुट्लाझैँ गरेर आपसी झगडामा नै व्यस्त छन । यस्तोमा के आशा गर्ने भनी धेरै निरास नै भएका छन् । टुट र फुटको अनि लेनदेनको घृणित खेल हेर्दै आजित भइसकेका हामी फेरि घुमीफिरी जहाँको त्यहीनै पुगेका छौँ । कोरोना र अहँको लडाइँ उस्तैउस्तै छन् । अलिकति हार मान्न कोही तयार छैनन् । अहिलेको कोभन्दा को कमहरुको लडाइँ हेर्दा अनि देशको यस्तो संवेदनशील अवस्थामा पनि आपसी झगडामा रुमल्लिरहेका राजनीतिक दल र आफ्नै अस्तित्वको खोजीमा रहेको सरकारलाई हेर्दा अर्को प्रश्न गर्न मन लाग्छ कि हामी बारम्बार सरकार बनाउँछौँ जोगाउँछौँ । तर, सरकारले हामीलाई जोगाउँछ कि आफ्नै कुर्सीलाई ?

प्रतिक्रिया दिनुहोस्