Logo
Logo

आफ्नै सर्वनाश देखिरहेको सरकार


उमेश बन्जाडे

2.4k
Shares

हाम्रो देश कस्तो सजिलो देश ? एकातिर बेथिति, कुशासन र भ्रष्टाचारको डढेलो सल्काइदियो, अर्कोतिर कसैलाई प्रयोग गरेर भाँडभैलो मच्चाउन लगायो– देश उतै दगुर्छ । त्यसपछि पृष्ठभूमिमा भइरहेका भ्रष्टाचार र बेथिति ओझेलमा पर्छ, त्यसपछि फेरि ढुक्कसँग राज्यसत्ताको दोहन ग¥यो, बस्यो ।

नेतृत्वकर्ताको यही ब्यहोराले गर्दा देशलाई आज अनेकथरि उपद्रोले चिथोरिरहेको छ । यतिबेला देशका नेताहरू बारम्बार एकाअर्काविरुद्ध चोर औंला उठाइरहेका छन् । एउटाले अर्काको झाँको झार्ने र भए÷नभएका लाञ्छना लगाएर आफू पानीमाथिको ओभानो बन्न प्रतिस्पर्धा नै गरिरहेका छन् ।

हुन त स्वाद परे चाटाचाट र रिस उठे काटाकाट गर्ने गतिलो इतिहास बनाएर यहाँसम्म आएका दल र नेताहरू अहिले आरोपप्रत्यारोपको महायात्रामा लामबद्ध हुनुलाई खासै अनौठो नमानौँ । यद्यपि, यी सबै राजनीतिक दलालहरूलाई हेक्का रहोस्– निरंकुश शासकको निरंकुशताभन्दा लोकतान्त्रिक व्यवस्थाका शासकहरूको निरंकुशता समाज र लोकतन्त्रका लागि झनै खतरनाक र घातक बन्दै गएको छ ।

आफ्नै अभियानमा मधेसतिर हिँडिरहेका प्रचण्डलाई ‘टिआरसी’ को विषय टुंग्याउने भन्दै दिउँसो काठमाडौं बोलाइयो । बेलुकी कुलमान घिसिङको घाँटी थिचियो । यदि प्रचण्ड दिउँसोको बैठकमा नगएको भए ‘द्वन्द्वकालीन मुद्दा समाधान गर्न प्रचण्ड अनिच्छुक’ भनेर रोइलो गरिन्थ्यो । तथापि प्रचण्ड गएपछि ‘टिआरसीलाई कुलमानसँग साटिएको’ लाजमर्दो–अफवाह फैलाइयो ।

आम नागरिकले कसको कुरा मान्ने ? कुलमानको पक्षमा उर्लिने जनसागरलाई थेग्ने हिम्मत नभएको सरकारले उचित समयको जोखाना हेरिरहेको थियो । ठ्याक्कै त्यही मौकामा राजावादी र समाजवादी मोर्चालाई एकैदिन विरोध प्रदर्शनको साइत जुराइदियो । त्यही बर्कोले अहिलेसम्मलाई ‘कुलमान पक्ष’को सम्भावित खतराबाट मुक्ति पाएको सरकारी निक्र्यौल छ ।

भनेपछि ‘आफैँ बोक्सी, आफैँ झाँक्री’वाला यो खेलले नै आजसम्म यी भ्रष्टाचारीहरूलाई जोगाइराखेको सत्य हो ! सडकमा राजतन्त्रको भूत देखाउँदै सत्तामा बसेर देश तहसनहस बनाइरहेका यिनै अनुहारहरू मूलतः आजको व्यवस्थाका प्रमुख दुस्मन हुन् ! यिनीहरूलाई छानीछानी जनस्तरबाटै कारबाही नगरुन्जेलसम्म देशले मुक्ति पाउन र जनताको अवस्था बदलिन असम्भव छ ।

वर्तमान सरकारको अहंकार र आवेगले विवेक प्रयोग गर्न होइन विषाक्त ओकेल्न दम्भ प्रदान गर्छ । शक्तिको दम्भ र अज्ञानताले पूर्वाग्रह तथा प्रतिशोधको भावना जागृत गराउँछ । काठमाडौंका मेयर बालेन साहविरुद्ध योजनाबद्ध प्रहार, रविविरुद्ध पक्राउ पुर्जी, कुलमान घिसिङमाथि अपमानपूर्ण व्यवहार, राज्यका हरेक निकायमा आरोपित व्यक्तिहरूको नियुक्ति–आदि गतिविधिले के देखाउँछ भने– ‘वर्तमान सरकार जनातासँग बडो आतंकित र भयभित’ छ । यसले आफ्नो सर्वनाश नजिकै देखिरहेको छ, त्यसैले भ्याइनभ्याइ–आफ्ना आपराधिक गतिविधिलाई बढवा दिइरहेको छ ।

अर्थतन्त्रको हतासोले यो देशमा सधैँ साहु महाजनकै गुन्द्री बुन्न थालेदेखि चिसो भुईँमा रात काट्ने निर्धाजनहरुको संख्या ह्वात्तै बढेको छ । सत्ता स्वार्थको रंग मिलाएर साहुहरू पटकपटक तालुमा आलु फलाइरहेका छन् । जनतालाई भने जहिल्यै ‘माछो–माछो भ्यागुतो’ बनाइरहेका छन् । दिन दुई गुणा र रात चार गुणाका दरले भ्रष्टाचारमा छलाङ हान्नेहरू ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भन्दै जनतालाई अर्ति–उपदेश दिन्छन् । ‘म भ्रष्टाचारीको अनुहारसमेत हेर्दैन’ भन्छन् । यत्तिका ‘चोखो’ नेताहरू विश्वभूगोलको गोलाद्र्धमा अन्त कहाँ पाइएलान् र ?

प्रतिक्रिया दिनुहोस्