Logo
Logo

उच्चकदका भैरव रिसाल


प्रकाश खड्का

504
Shares

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । देशले एक असल, देशभक्त र हिम्मतिलो पत्रकार गुमाएको छ । रिसालको निधनले पत्रकारिता क्षेत्र मर्माहत भएको छ । पत्रकारिताका जिउँदो इतिहास गुमाउनुपर्दा पीडाबोध भएको छ । रिसाल वामपन्थी आन्दोलनमा सहभागी हुनुभयो र पत्रकारिता गर्नुभयो ।

नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र अखण्डताका निम्ति रिसालको योगदान अतुलनीय छ । रिसालले नेपाली जनता र देशका लागि धेरै लेखनी छाडेर जानुभएको छ । कालापानी क्षेत्रमा जनगणना गरेर उक्त भूभाग नेपालको हो भनेर देखाउने काम उहाँले गर्नुभएको थियो । यसबाट उहाँको दृढ देशभक्त झल्किन्छ । सानो गाँठी भए पनि उच्च कद थियो उहाँको ।

१९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिनुभएका रिसालले यसअघि नै मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । सोहीअनुसार उहाँको पार्थिव शरीरलाई जलाइएन, अध्ययन, अनुसन्धानका लागि पाटन अस्पतालमा बुझाइयो ।

पत्रकारिताका भीष्मपितामह स्व. रिसालका जीवनका अनेकन् आयाम छन् । तर सबैलाई जित्ने आयाम चाहिँ पत्रकारिता नै थियो । उहाँले उत्तराद्र्धमा आइपुग्दा पनि पत्रकारलाई जिउँदो रहन सुझाव दिइरहनुभयो । उहाँ भन्नुहुन्थ्यो– पत्रकारलाई निदाउँदा पनि आँखा बन्द गर्ने सुविधा हुँदैन । कान र आँखा हमेसा खुलै राख्नुपर्छ ।

पत्रकार अल्छी बन्दै गएकामा उहाँको गुनासो हुन्थ्यो । पत्रकार अल्छी बन्दा र विषयवस्तुको संवेदनशीलता वहन गर्न छाडेकैले पत्रकारिताको मूल्यमा ह्रास आएको उहाँ बताउनुहुन्थ्यो । उहाँले राणा शासन, प्रजातन्त्र प्राप्तिको आन्दोलन, पञ्चायत, बहुदलीय व्यवस्थाको आन्दोलन, माओवादीको सशस्त्र संघर्ष, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन, गणतन्त्र प्राप्तिको आन्दोलन, संविधानसभा लगायत राजनीतिक उतारचढाव प्रत्यक्ष देख्नुभयो । आफूले देखेका यि घटनाक्रमहरू उहाँ बेलिबिस्तार लगाउनुहुन्थ्यो ।

तीनधारा पाठशालामा संस्कृत पढेका रिसालले भारतको बनारसबाट २०१२ सालमा शास्त्री परीक्षा उत्तीर्ण गर्नुभएको थियो । २०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थाल्नुभएका रिसाल आफ्नो बेलाका जिउँदाजाग्दा पत्रकार हुनुहुन्थ्यो । त्यतिबेला पत्रकारिता अहिलेजस्तो व्यावसायिक थिएन। मिसन पत्रकारिता थियो । गाउँको विकास–निर्माणमा पनि उत्तिकै चासो राख्नुहुन्थ्यो । गाउँलाई एकताबद्ध बनाउन र विकासको गतिमा अघि बढाउन आफ्नो भूमिका प्रखर र मुखर बनाउन पत्रकारितालाई उहाँले उपयोग गर्नुभएको थियो ।

त्यही क्रममा रिसालले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा प्रमुख समाचारदाताको जिम्मेवारी निर्वाह गर्नुभयो । राससबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध हुनुभयो । रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला चलाउनुभयो । उहाँले तथ्यांक विभागमा रहेर समेत काम गर्नुभयो ।

जीवनको उत्तरार्धमा उहाँले आफ्नो अनुभव र अनुभूति नयाँ पुस्तालाई पस्कँदै आउनुभयो । पछिल्लो एक वर्षयता भने रिसाल स्वास्थ्यका कारण निष्क्रिय हुनुहुन्थ्यो । बाँकी पूरै जीवन कहिले पनि चुप लागेर बस्नुभएन । सधैं समाजलाई केही न केही योगदान दिइराखूँ भन्ने हुटहुटी उहाँमा थियो । समग्रमा उहाँको जीवन नै समाजसेवामा बित्यो । पत्रकारितामा लाग्ने सबैका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ ।

वातावरण संरक्षणका लागि रिसालले लिएका पहल उत्तिकै सम्झनालायक छन् । ५० को दशकमा स्थानीयस्तरका राजनीतिक कार्यकर्तालाई वातावरण संरक्षणको महत्व बुझाउन वातावरण पत्रकार समूहले जिल्लाजिल्लामा कार्यक्रम गथ्र्यो । त्यसको परिकल्पनाकार रिसाल नै हुनुहुन्थ्यो ।

स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसालले भूमिका खेल्नुभएको थियो । रिसालको निधनले देशले होनाहार पत्रकार, वातावरण सरंक्षणकर्मी, समाजसेवी गुमाएको छ । रिसालले जगदम्बा श्री, मानवअधिकारसम्बन्धी र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

लेख लेखेकै आधारमा अनाहक जेल परेपछि रिसालले ‘साधुलाई सूली’ नामक जेल डायरी नै लेख्नुभएको थियो । उहाँ २००४ सालमै कम्युनिस्ट विचारधारासँग नजिक भइसक्नुभएको थियो । २००४ सालमा तीनधारा संस्कृत पाठशालामा जयतु संस्कृतम् आन्दोलन चर्किएको थियो । त्यसमा उहाँ सक्रियतापूर्वक सहभागी हुनुभएको थियो । त्यही बेलै उहाँको पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यसँग संगत भएको थियो ।

२०१३ सालसम्म पुग्दा उहाँ कम्युनिस्ट स्कुलमा भर्ती भइसक्नुभएको थियो । पत्रकार भएपछि उहाँको जीवनको क्रान्तिकारी पाटो ओझेल परेको थियो, जुन २०४८ सालमा मुखर भएको थियो । रिसाल २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभयो । तर, छिनो मतान्तरले पराजित हुनुभयो ।

रिसाल सार्वजनिक आह्वानमार्फत स्रोत परिचालन गरेर दूरदराजका नागरिकलाई सेवा उपलब्ध गराउने अभियन्तासमेत हुनुहुन्थ्यो । दाँत र हातखुट्टाका नङ खिइँदै गएका थिए । शरीरका तन्तु एकपछि अर्को गरी निस्क्रिय बन्दै गइरहेका थिए । तर पनि मन त स्फूर्त नै थियो । उहाँका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायत पुस्तक प्रकाशित छन् ।

रिसालले ९४ वर्षसम्म चस्मा लगाउनु परेन । दृष्टि पातलिएको किञ्चित् महसुस गर्नुभएन । देश–दुनियाँका घटना–दुर्घटनामा कान ठाडो पारिरहनुभयो । चहकिला आँखाले त्यसलाई पर्गेलिरहनुभयो । आफ्नै शब्द, शिल्प र बान्कीले त्यसलाई अथ्र्याइरहनुभयो । उहाँले गत साउन २९ गते ९७औँ जन्मदिन मनाउनुभएको थियो । उहाँलाई शुभकामना दिन प्रधानमन्त्रीदेखि थुप्रै नेता, पत्रकारको भीड लागेको थियो ।

९६ वर्षको अन्त्यतिरबाट रेडियो कार्यक्रम कुरोकन्थो बिट मार्नुभएको थियो । त्यसको एक वर्ष पनि बित्न नपाउँदै उहाँ हामी सबैको साझबाट बिदा हुनुभएको छ । उहाँको भौतिक शरीर हामीबाट बिदा भए पनि उनको योगदान मानसपटलमा ताजै रहिरहने छ । उनको प्रेरणाले जीवनमा सक्रिय बनिरहने आँट र हौसला प्रदान गरिरहने छ ।

प्रतिक्रिया दिनुहोस्