काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट आएको बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको उल्लेख गर्दै आन्दोलनलाई फेरि एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । “हामीले साँच्चै देशमा राष्ट्रिय स्वाधीनतामाथि आएको संकटको समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि परेको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न, आन्दोलनलाई एकताबद्ध गर्न र देशमा देखा परेको निरंकुश प्रवृत्तिका विरुद्ध फेरि एक पटक संघर्ष गर्न दृढ संकल्प गर्नुपर्ने समय हो यो,” प्रचण्डले भने, “यो श्रद्धाञ्जली कार्यक्रमलाई हामीले यही रूपमा बुझ्नुपर्छ ।”
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने अवस्था आएको बताए । उनले कमरेड पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य जस्ता नेताहरूको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र पुनर्जीवित गर्नुपर्नेमा जोड दिए ।
“अहिले नेपालको कम्युनिष्ट आन्दोलनले धक्का खाएको बेलामा हामीले यी नेताहरूप्रति श्रद्धा प्रकट गर्दै आन्दोलनलाई एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्छ,” उनले भने, “यो कार्यक्रम औपचारिकता पूरा गर्ने मात्र होइन, दृढ अठोट गर्ने अवसर पनि हो ।”














