
आजकल मलाई मन लागेर आउँछ
यो ज्यान मृत्युलाई लिलाम पो गरिदिउँ कि
सुनेको छु मृत्युले राम्रै दाम दिन्छ रे
मृत्युले दिएको दामले मेरो चिहान बनाउनु छ
अनि, मलामी पनि पो चोख्याउनु छ ।
मेरो लिलामको मृत्युपछि
मेरा छोरा–छोरीका आमा
अर्थात् प्रिय मेरी अर्धागिनी
मेरो लाशको छेउमा बसी
भक्कानिँदै विलापसँग रुन्छिन् क्यारे ।
मेरो मृत्युपछिको आत्मले सम्झिने छ
जतिञ्जेल मेरी प्रिय धर्तिमा बस्नु छ
तिमी र मेरो समिप्यबाट जन्मिएका
ती सन्तानसँग राम्ररी बस् है
सायद मेरो सम्झना आइहालेमा
भित्तामा टाँगिएको मेरो तस्बिर हेरेर
मायाले मुसुक्क मुस्कुराउ है ।
अन्तमा एउटा बाचाचाहिँ गर्नुछ
यदि, पुर्नजन्म तिमी र म भएछौँ भने
फेरि पनि हाम्रो मिलन होस् है
त्यति भए मलाई पुग्छ ।
–एचबी सुब्बा
मिति : २७ चैत २०८१
फेदाप-१ तेह्रथुम
हाल कामनपा-८, सिफल चौर, जयबागेश्वरी
काठमाडौं ।