काठमाडौं । अमेरिका बसेर साहित्य साधना गरिरहेका लेखक पशुपति घिमिरेका अंग्रेजी भाषामा प्रकाशित दुई कृति अमेरिकी सिनेटरले लोकार्पण गरेका छन् । सन् २०१३ मा आफ्नो पहिलो कृति बुद्धबादका तीन आयाम प्रकाशित गरेका घिमिरेले हालै थ्री डाइमेन्सन्स अफ बुद्धिजम शीर्षकमा सोही पुस्तकको दोस्रो संस्करण अंग्रेजी भाषामा सार्वजनिक गरेका छन् ।

साथै वान्डरिङ वर्डस् (भौंतारिएका शब्दहरू) शीर्षक र सम वेभ्स फ्रम थ्री कन्टिनेन्ट्स् (तीन महादेशका केही तरङ्ग) उप शीर्षकमा नवीन कृति नियात्रा संग्रह समेत प्रकाशित गरेका घिमिरेका दुवै कृति भर्जिनिया राज्यका सिनेटर स्काइलर टी भ्यान भ्याकेनवर्गले आइतवार लोकार्पण गरेका हुन् ।
वान्डरिङ वड्र्स संग्रहमा एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश देश यात्राका १८ साहित्यिक रसयुक्त निबन्धहरू समावेश छन् । अंग्रेजी भाषामा प्रकाशित यी पुस्तक एमाजन डटकम र एमाजन किन्डल इ बुकमार्फत् संसारभर उपलब्ध रहेको बताइएको छ ।
कृतिको नेपाली संस्करण प्रकाशनका लागि पनि तयारी भइरहेको लेखक घिमिरेले बताए । कार्यक्रमका प्रमुख अतिथि सिनेटर भ्याकेनवर्गले पुस्तक प्रकाशित गरेकामा लेखक घिमिरेलाई धन्यवाद दिएका थिए ।
नेपाली लेखकले अंग्रेजी भाषामा विश्व साहित्यमा यस्ता गहन कृति प्रस्तुत गर्नु सम्पूर्ण नेपालीहरूका निम्ति गर्वको विषय भएको कार्यक्रम आयोजक संस्था नेपाली कम्यूनिटी अफ रिचमन्ड,भर्जिनियाका अध्यक्ष चन्द्र मल्लले बताए ।
नेपाली नयाँ बर्ष २०८२ को स्वागत गर्दै करिब दुईसय नेपाली भेला भएको सो कार्यक्रममा सिनेटर भ्याकेनवर्गले नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनिया (NCRVA) लाई संस्थाको सक्रियता र योगदानको कदरस्वरूप सम्मान पत्र प्रदान गरेका थिए ।