Logo
Logo
टिप्पणी

छिमेकी प्रेमको मुखुण्डोमा भारतीय घृणा


पूर्णहरि अमात्य

819
Shares

नेपालको राजनीतिक कालखण्डको अवस्थाबारे भारतमै कुख्याति कमाएको गोदी मिडियाहरूले केही दिनयता अनर्गल टिप्पणीहरू गरेर भारतीय जनतालाई गलत सूचना प्रवाह गरिरहेका छन् । हाम्रो आन्तरिक राजनीतिक मामिलाहरूमा कपोलकल्पित तथा दुराशययुक्त समाचारहरू सम्प्रेषण गर्ने चलन भारतीय मिडियाले दशकौँअघिदेखि गर्दै आएका छन् र हाल पनि गरिरहेकोमा कुनै आश्चर्य मान्नु पर्ने कुरा छैन ।

एउटा युट्युब च्यानलमा नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेको उपस्थितिमा राजा वीरेन्द्र र उनका वंशको कत्लेआम भारतीय खुफिया एजेन्सी ‘र’ले घटाएको भनी हाकाहाकी भनिएको छ ।

राजदरबार हत्याकाण्डको पृष्ठभूमिबारे युट्युबमा भारतीय प्रधानमन्त्री राजीव गान्धी र उनका पत्नी सोनिया गान्धी सार्क सम्मेलनमा नेपाल भ्रमणमा रहेको बेला पशुपतिनाथको दर्शन गर्न पुग्दा त्यहाँका मुख्य पुजारी भट्टले ‘तपाईँ त हिन्दू भएकोले पशुपतिनाथको दर्शन गर्न पाउनु हुन्छ तर तपाईँकी पत्नी इसाई भएकोले दर्शन गर्न मिल्दैन’ भनेपछि त्यहीबाट राजीव गान्धी र राजा वीरेन्द्रको सम्बन्ध बिग्रिएको बताइएको छ ।

त्यसबेलादेखि भारतीय संस्थापन पक्षले नेपालप्रति कठोर नीति अपनाएको भनिन्छ । उक्त घटनाले गान्धी दम्पतीले आफूलाई अपमानित महसुस गरे भनिन्छ । जबकि पशुपतिनाथ दर्शन गर्न वञ्चित हुनुपर्ने स्थिति आउनुमा नेपाल सरकार वा नारायणहिटी राजदरबारको कुनै भूमिका नै छैन । तर भारतीयहरूका बेलायती औपनिवेशिकता के छ भने नेपालजस्तो सानो मुलुकले हामीलाई हेप्ने ? हामीले भनेको नमान्ने ? र यस्तो दुस्साहस गर्नेलाई सजाय नदिई कहाँ हुन्छ भन्ने दम्भले यस्ता दुराशयपूर्ण व्यवहार भारतीयहरूबाट बरोबर आउने गर्दछ ।

भारतीय प्रधानमन्त्री राजीव गान्धीको रिस त्यतिले मात्र शान्त भएन । उनी नयाँ दिल्ली फर्केपछि नारायणहिटीलाई घुँडा टेकाउन नेपालविरुद्ध नाकाबन्दी लगाए र मेचीदेखि महाकालीसम्मको खुला सिमानाको परम्परालाई तिलाञ्जली दिएर दुई मात्र नाका जोगबनी र रक्सौल मात्र खुला गर्नाले नेपालभित्र दैनिक उद्योगका वस्तुहरू मात्र होइन, जीवनदायी औषधिहरूको अभावले कैयौँ नेपालीहरूले ज्यानसमेत गुमाउनुप¥यो ।

यो घटना सन् ८० को दशकको अन्त्यतिरको हो, जुन बेला पञ्चायतको इतर पक्ष बहुदलीय व्यवस्थालाई स्थापित गरेर नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न नागरिक भई आकांक्षा राख्नेहरूले निरङ्कुश व्यवस्थाप्रति संघर्षको बिगुल फुके । यसरी पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सशक्त हुँदै जाँदा विसं ०४६ साल चैत २६ गते पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुनस्र्थापना भयो ।

२०४६ सालमा पुनःस्र्थापनापछि उन्मुक्त वातावरणमा नेपाली जनताको इच्छा, आकांक्षा चुलिनु स्वाभाविकै थियो । र, प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेसले प्रतिनिधिसभामा पूर्ण बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकमना सरकार बन्यो ।

तर प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसको गुटबन्दी तथा आपसी खिचातानी बढ्दै गएपछि विसं २०५१ मा कोइरालाले संसद् भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरे । तर नेपाली कांग्रेसले संसद्मा पूर्ण बहुमत पहिलाझैँ पाउन सकेनन् र नेपालमा अन्योलको स्थिति सृजना हुन गयो ।

उक्त सङ्क्रमणकालीन तरल राजनीतिको फाइदा उठाउँदै नेपालको राजनीतिमा माओवादी एउटा नयाँ शक्तिको रूपमा देखापर्यो जसले ०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष प्रारम्भ ग¥यो । नेपालको स्थायित्व भई विकासको गति अघि बढे यो मुलुकलाई आफ्नो इशारामा हिँडाउन सकिँदैन होला भन्ने विचार गरी माओवादीले भारतकै संरक्षणमा एक दशकसम्म रक्तपातपूर्ण हिंसाको राजनीति सञ्चालन गरेर मुलुकलाई अधोगतितर्फ धकेले ।

तर भारतीय मिडियाले नेपालमा माओवादी गतिविधि बढाउन प्रायोजित रूपमै नयाँ दिल्लीको इशारामा चिनियाँहरूलाई दोषरोषण गरे । जबकि, नेपालको माओवादीहरूको चिनियाँ सरकारसित कुनै औपचारिक वा अनौपचारिक सम्बन्धसमेत थिएन भनी जानकार सूत्रहरू बताउँछन् ।

भारतीय मिडियाहरूले सबभन्दा बढी अनर्गल तथा कपोलकल्पित प्रचारप्रसार विसं २०७२ सालको संविधान घोषणा हुनेताका नेपाल तराई मधेसमा बसोबास गर्ने मधेसीहरूप्रति भेदभाव ग¥यो भनेर निकै ठूला हल्लाखल्ला ग¥यो ।

त्यसबेलाका भारतीय विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भई काठमाडौं आएर नेपालका सबै राजनीतिक दलहरूका नेतालाई भेटी संविधान घोषणा नगर्न दबाब दिए । तर प्रधानमन्त्री सुशील कोइराला मात्र होइन, नेपालका सबै राजनीतिक दलहरूले आफ्ना सबै मतभेदहरू बिर्सेर संविधान घोषणा नगर्न दबाब दिए ।

प्रधानमन्त्री सुशील कोइराला मात्र होइन नेपालका सबै राजनीतिक दलहरूले आफ्ना सबै मतभेदहरू बिर्सेर संविधान घोषणा एकमत भएर गरे । नेपालजस्तो सानो देश भएर हाम्रो भनाइ नमान्ने भन्दै नेपालमा पुनः नाकाबन्दी गरे ।

संविधानको घोषणापश्चातपछि मधेसीहरुलाई शोषण, दमन ग¥यो भनेर अनर्गल प्रलाप गरे । जबकि उक्त संविधान समावेशी, महिला, जनजाति तथा अल्पसङ्ख्यकहरूलाई समेत अधिकार सम्पन्न बनाए । तर पनि हालसम्म पनि भारतीय मोदी मिडियाहरूले मधेसीहरूले अधिकार पाएको छैन भन्न छाडेका छैनन् ।

नेपाल धर्मनिरपेक्ष मुलुक भएको संविधानमै उल्लेख भएपछि भारतको भारतीय जनता पार्टीलाई चित्त बुझेको छैन । त्यहाँका मिडियाहरू नेपालमा इसाई धर्म तीव्र रूपमा बढ्यो भनेर खुबै चर्चा गर्छन् ।

जबकि भारत आफैँ धर्मनिरपेक्ष मुलुक हो भन्नेचाहिँ बिर्सन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतको भ्रमणको निमन्त्रणा नपाएपछि बाध्य भई चीन भ्रमण गरी बिआरआई फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षर गरेपछि पुनः भारतीय गोदी मिडिया नेपाल भारतको विरुद्धमा गयो भनेर बरबराउन थाल्छन् ।

नेपालजस्तो कहिले कुनै शक्तिको उपनिवेश नभएको मुलुक आफ्ना छिमेकीसित सम्बन्ध राख्न सम्झौता गर्न उसलाई किन टाउको दुख्ने होला ? फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणबाट काठमाडौँ फर्कँदा उनका समर्थकहरूले निकालेको जुलुसलाई ‘नेपालमा राजाशाहीका आगमन’ भनेर व्यापक प्रचारप्रसार ग¥यो । मानौँ ज्ञानेन्द्र निर्वासित भई स्वदेश फर्केझैँ उनीहरूले बकबक गरे ।

त्यसैगरी चैत १५ गते तीनकुने घटनालाई पनि भारतीय गोदी मिडियाले अतिरञ्जित रूपमा प्रचार प्रसार गरे । भारत सार्वजनिक रूपमा त भन्दैन, तर भारतीयहरूको भित्री मनसाय नेपाललाई भुटानको स्थितिमा कज्याएर राख्ने र नेपालले चीनसित घनिष्ठ सम्बन्ध नबनाओस् भन्ने नै हो । तर सार्वजनिक रूपमा भन्न त मिलेन, तर भित्री मनसायचाहिँ त्यही नै हो ।

प्रतिक्रिया दिनुहोस्