नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्छन् । तर, यसपटक उनी राजावादीका बारेमा धेरैपटक बोल्दा फसेका छन् । योगी आदित्यनाथलाई जोडेर देउवाले राजसंस्था पुनःस्थापनाका लागि नयाँ दिल्लीस्थित राजदूतावासमा पुगेर स्वयं योगीले नेपालको राजावादी आन्दोलनमा आफ्नो कुनै हात छैन भनेको सार्वजनिक अभिव्यक्ति दिए । भोलिपल्टै त्यही कुरा सच्याएर बोले देउवाले । हतास मानसिकताको उपज यस्तो भयो देउवाबाट ।

केही महिनाअघि उच्चस्तरीय भेट नहुनेभएपछि देउवाले तय भइसकेको भारत भ्रमण नै रद्द गरेका थिए । राजावादी गतिविधि बढेपछि त्यसबारे बुझ्न परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणालाई खटाए । भारतबाट फर्किएपछि राणाको अभिव्यक्ति देउवाको पछिल्लो अभिव्यक्तिसँग मिल्दोजुल्दो थियो ।
त्यसो त नेपालमा उठेको राजावादी आन्दोलनमा भारतको भूमिका छ या छैन भनी बुझ्न दिल्ली धाउने पात्रहरूको संख्या बढ्दो छ । राजावादी पनि आफ्नो पक्षमा माहौल बनाउन भित्र भित्र दिल्ली दौडमा छन् ।
भारतको मिडियामा समेत विभिन्न कोणबाट नेपालको पछिल्लो घटनाक्रमबाट विभिन्न व्यक्तिले यो घटनाबारे आफूनिकट दल या संस्थाको स्वार्थमा लेखेको देखिन्छ । आत्मरतिमा रमाउन पाइन्छ । परिस्थितिको वास्तविकता सतही बुझाई र विश्लेषणभन्दा भिन्न छ ।
केही न केही राजनीतिक उथलपुथलको परिस्थिति बन्दै छ भन्ने स्पष्ट छ । कोही उत्साही छन् त कोही त्रसित । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जति ढुक्कले बोलेको देखिन्छन् उति नै अत्तालिएका पनि छन् । कुनै बेला अयोध्यामा श्रीराम मन्दिर निर्माण हुन लाग्दा श्रीराम ठोरीमा जन्मिएको विषय उचाल्नै ओली नै थिए । अहिले उनी यो मामलामा चुप छन् ।
पछिल्लो समय राजावादी गतिविधि बढेपछि ओली आक्रामक बन्न थालेका छन् । उनका विश्वासपात्रहरू त बोलीमा लगाम नराखी बोलिरहेछन् । राजावादीप्रति आक्रामक बन्ने होडबाजी कांग्रेस, एमाले र माओवादी तीनवटा शक्तिमा चलिरहेको छ । सबैका साझा शत्रु राजावादी देखिएका छन् । तर, रोचक पक्ष तीन वटै शक्ति हिन्दूराष्ट्रको मुद्दाको विरोध या पक्षमा खुलेर उत्रिएका छैनन् । तीन वटै शक्तिभित्र हिन्दूराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । त्यसमाथि पनि कांग्रेस र एमालेभित्र त झन् बलियो बनिरहेको छ । कांग्रेसमा त हिन्दूराष्ट्रको पक्षधरको बहुमत अवस्था छ ।
जति जति हिन्दूराष्ट्रको मुद्दा बलियो हुँदै गएको छ उति उति गणतन्त्रवादी र राजावादीको द्वन्द्व पेचिलो बनिरहेको छ । रोचक पक्ष यो छ कि यी दुवै राजनीतिक शक्तिमा हिन्दूराष्ट्रका समर्थक र विरोधी दुवै छन् । मुद्दा उठाउने विषय एउटा हुन्छ र त्यसप्रति इमानदारिता कति छ भन्ने अर्को हुन्छ ।
हिन्दूराष्ट्रको मुद्दामा आन्तरिक माहौल बन्दै जाँदा बाह्य शक्तिप्रति आशंका गर्ने देशभित्रका राजनीतिक तथा गैरराजनीतिक समूह उत्तिकै छन् । विशेषगरी हिन्दुत्व विचारको भारतको शक्तिशाली राष्ट्रिय स्वयंसेवक संघको भूमिकाबारे टीकाटिप्पणीहरू भइरहेका छन् ।
आरएसएसका नामले चिनिने यो सङ्गठन जस्तै विश्वका विभिन्न देशमा हिन्दुत्व विचारका सङ्गठनहरू छन् । नेपालमा हिन्दू स्वयंसेवक संघ हिन्दुत्व विचार बोकेर हिन्दु एकता र व्यक्तित्व विकासमा सक्रिय छ । संघ विचारले नेपाल हिन्दूराष्ट्र नै हो भन्छ र संविधानमा हिन्दूराष्ट्र हटाएकोमा त्यसलाई सच्याउन हिन्दूराष्ट्र जागरण अभियानलाई साथ दिँदै आएको छ ।
संघले देशको कुना काप्चामा हिन्दू जागरण चलाएकैले आफ्नो धर्म आफ्नो संस्कृतिप्रति जनजनमा जागरण बढेको हो । जसका कारण देशलाई धर्मनिरपेक्ष बनाएर आफ्नै धर्ममाथि खतरा बढाउनेहरुमाथि दबाब बढेको हो । राजनीतिक शक्तिहरू जनतामा बढेको धर्म संस्कृति भाषाबारे बढेको जागरणले आफ्नो अस्तित्व नै संकटमा पर्ने हुन् कि भन्नेमा परेका छन् ।
हुनत कांग्रेस, एमाले र माओवादी जस्ता दलहरुसँग बलियो सङ्गठन छ । कर्मचारीतन्त्रमा बलियो पकड छ । यी शक्तिहरूले देशव्यापी रूपमा नेटवर्क बनाएर आफ्नो राजनीतिक गतिविधि चलाइरहेका छन् ।
यतिसम्मकी स्वतन्त्र न्यायपालिकामा समेत आफ्ना कार्यकर्ता भर्ती गरेर पकड बनाएका छन् । हरेक नियुक्तिमा लेनदेन खुल्ला किताब जस्तै बनिसकेको छ । कांग्रेस, एमाले र माओवादी मिल्दा दुई तिहाइ हुन्छ । दुई तिहाइको शक्तिकै हालीमुहाली छ देशमा । उनीहरूसँग सङ्गठन, सत्ता र शक्ति तीन वटै छ । तर, नैतिक बल छैन । एमाले अध्यक्ष ओलीले भित्री बैठकमा आफ्ना युवाको नशामा रगत बग्न छाडेको त्यसै भनेका छैनन् । देउवाले त केही वर्षअघि युवाविद्यार्थीलाई काठमाडौंमा मात्र थुप्रने गाउँ गएको खोइ भनेर हप्काएकै हुन् ।
प्रचण्ड त आफै युवाशक्ति खोज्न गाउँ गाउँ भौँतारिन थालिसके । जब नैतिक बल हुँदैन तब नेतामा आफ्नै कार्यकर्ताप्रति भरोसा घट्न थाल्छ । स्वार्थको तन्तुले जोडिएका कार्यकर्ताको भर हुँदैन । विचारको सुन्यता बन्दै गएपछि दलहरूमा द्रव्यमोहमा चुर्लुम्म भएका हाबी भएपछि संगठित गिरोहको शैली चल्तीमा छ ।
स्विस बैंक र कम्बोडियामा देशको पूँजी पलायनका सप्रमाण घटनाबारे ३ करोड नेपाली जनता अवगत छन् । सिंगापुर र दुबईमा अरबौंको परियोजनासम्बन्धी डिल र घूसको लेनदेनबाट अख्तियारका प्रमुख आयुक्त प्रेम राई नै संसदीय समितिमा पुगेर बोलिसके । ठूला डिलका लागि घूस लेनदेनको स्टेशन नै बनाएर नामुद माफियाहरू दुबई र सिंगापुर जस्ता स्थानमा बसेका छन् ।
देशका मालदार ठाउँमा नियुक्ति उनीहरूले नै गराउँछन् । देशमा प्रतिमहिना डेढ खर्ब रेमिट्यान्स भित्रन थाल्यो तर बजारमा पैसाको खडेरी छ । बैंकमा पैसा थुप्रिए पनि लगानीयोग्य वातावरण बन्न सकेको छैन । सहकारी ठगहरू विदेशमा व्यवसाय खोलेर या नागरिकता लिएर बस्न थालिसके । कोही जेल सजायका नाममा पाँचतारे होटेलको सुविधा रहेको अस्पतालका बेडमा आराम गरिरहेछन् । काण्डै काण्डले नेताहरू कलङ्कित भइसके । जनआक्रोश थेगिनसक्नु हुँदैछ । अनि नेताहरू आफ्नै छाया देखि आत्तिनुपर्ने अवस्था आउनु स्वाभाविक हो ।
राज्य सञ्चालनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सही सूचना राखेर रहनुपर्नेमा अर्थोपार्जनमा लाग्दा प्रधानमन्त्रीको कुर्सीको म्युजिकल चेयरमा रहँदै आएका नेताहरूले मूल तत्वबोधबाट आफूलाई निकै टाढा पु¥याइसकेका छन् । त्यसैले त ओलीले केही वर्षअघि रोहिंग्यालाई पार्टी प्रवेश गराए । गैरकानूनी आप्रवासीलाई जग्गा दिलाउने योजनामा भूमिसम्बन्धी अध्यादेश नै आयो । शिवरात्रिमा प्रचण्ड मुस्लिम समुदायमाझ पुगे अनि देउवाले राजावादीको आन्दोलनमा आदित्यनाथप्रति आशङ्का गरे ।
यो घटनाक्रमबीच ओली र प्रचण्डको कमजोरी सबै बुझेका दुर्गा प्रसाईँ यीनलाई उल्लु बनाउन दक्षिण दौडाहा गर्दै मन्दिर अगाडि उभिएर भिडियो बनाएर चुनौती दिए । बैंकको ऋणको मारले छटपटिएका व्यवसायी प्रसाईँले चुनौती दिन सक्ने र उल्लु बनाउन सक्ने स्तरमा नेताहरू झर्नु सामान्य घटना होइन । ¥यापर बालेन साहले काठमाडौंको मेयर जितेर मैँ हुँ भन्ने नेतालाई आच्छु आच्छु पारिरहेका छन् ।
रवि लामिछाने अर्को चुनौती बनेकै छन् यीनका लागि । अवस्था यस्तोसम्म आउला भन्ने नेताहरूले कहिले पो कल्पना गरेका थिए । नेताहरूले लोकतान्त्रिक गणतन्त्र त ल्याए तर देखाएका सपना पूरा गर्न नसक्दा जनताको आक्रोशले यो परिस्थिति निर्माण गरेको हो ।
ओलीले पखेंटा फिँजाएर उड्ने विदेशनीतिको दम्भ देखाएकै हुन् । आरजु राणा देउवाको दक्षिण दौडाहा कम रोचक रहेन । आन्तरिक समर्थन कमजोर बन्दै गएपछि बाह्य समर्थन खोज्न र विरोधीले त्यस्तो समर्थन नपाउन् भन्ने हेतुले यी दौडाहा भएको छर्लङ्ग छ ।
जनताप्रति विश्वास नभएपछि नेताहरू विदेशीको भूमिका आशङ्का गर्ने अनि तर्सने भइहाल्छ । वास्तवमा ३ करोड नेपाली जनताको आत्मामाथि ठेस पु¥याउने कदम चाल्नेहरूले आफूलाई सच्याउनुको साटो बाह्य भूमिकाको आशा गर्नुमै त्रुटि छ । कुनैपनि देश र समाजको मुख्य भनेकै त्यहाँका जनता हुन् ।
देशको भूगोल हुन्छ, इतिहास हुन्छ, धर्म हुन्छ, भाषा हुन्छ, संस्कृति हुन्छ, महापुरुष हुन्छन् । के नेताहरूले यी मूल विषयप्रति न्याय गरेका छन् ? नेपाल कुन भूगोलमा छ भन्ने बिर्सिएका छन् । इतिहास त नामेट नै पार्ने गतिविधि भइरहेका छन् । धर्ममाथि आक्रमणको ठेकेदार बनेका छन् । भाषा र संस्कृतिमाथि आक्रमण गराइरहेका छन् ।
नेपाल निर्माणकर्ता महापुरुषहरूको अपमान गरेका छन् या गर्दा मौन छन् । देशप्रति न्याय नगर्नेलाई देशले कदापि न्याय गर्नेछैन । जनतामाथि अन्याय गर्नेलाई जनताले उचित समयमा गतिलो पाठ सिकाउने नै छन् ।
हिटलरको शैलीमा प्रोपोगान्डा मच्चाएर जनतालाई सबै ठिकठाक छ भन्ने देखाउन सामाजिक सञ्जाल प्रभावशाली भएको अहिलेको युगमा सम्भव छैन । पैसाको बलमा कुनैपनि देशमा गरिएका धार्मिक तथा सांस्कृतिक आक्रमण टिकाऊ नहुने देखेरै डोनाल्ड ट्रम्पले त्यस्ता कोषहरू बन्द गरिदिइसके । जहाँबाट आएको थियो उतैबाट भण्डाफोर भइगयो ।
सनातन हिन्दु समाजको जगमा उठेको नेपालमा ज जसले हिन्दु सभ्यतामाथि आक्रमण गर्न खोजे या त्यसको सहयोगी बने ती पतन भए । गोर्खाका पृथ्वीनारायण शाहको उदय र मल्लवंशको पतन यही सन्दर्भमा भएको थियो ।
शाहवंशको पतनका पछाडिका कारण पनि यही हो । नेताहरूले यो यथार्थलाई बुझ्न अझै ढिलो गर्दैछन् । जति ढिलो गर्छन् उति पतनको बाटोमा जान्छन् । अर्थोपार्जन र त्यसको बलमा टिकेको संगठन तासको घर जस्तै ढल्छ ।











