
वाम आन्दोलनका योद्धा अमर सहिद रत्नकुमार बान्तवा भौतिक रूपमा बिदा भएको पनि ४६ वर्ष बितेको छ । २००८ साल चैत २७ गते जन्मिएका रत्नलाई २०३५ साल चैत २७ गते नै २७ वर्षकै उमेरमा पञ्चायतले निर्ममतापूर्वक हत्या गरेको थियो । रत्नको जन्म, मृत्यु र वर्ष २७ नै पर्नु एउटा संयोग थियो ।
निरंकुश पञ्चायती व्यवस्था अन्त्य गर्ने उपघोषसहित गरिब र निमुखा जनताको पक्षमा लडिरहेका रत्नलाई इलामको इभाङको जंगलमा क्रुरतापूर्वक हत्या गरिएको थियो । अविचलित र निडर रत्न सहिद भए पनि उनले बालेको चेतनाको राँको रोकिएन । आन्दोलनले उचाइ लिँदै गयो । अन्ततः २०४६ सालमा पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापना भयो ।
त्यसपछि कम्युनिष्ट पार्टीमा लागेकै कारण मर्नुपर्ने दिनको अन्त्य भयो । जनताका अधिकार स्थापित हुँदै गए । हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । रत्नको बलिदानले स्थापित एमाले सत्तामा छ । संविधानमा जनताका मौलिक हक सुरक्षित गरिएको छ । तर, जनताको अवस्थामा भने अझै सुधार आउन सकेको छैन ।
जहानिया निरंकुश राजतन्त्र ढालेर जनताको जनवादी राज्यसत्ता स्थापित गर्ने उद्देश्यले रत्न कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी कोअर्डिनेशन इलाम जिल्ला कमिटीको सदस्य र सचिव रत्न मालेको केन्द्रीय कमिटी सदस्य थिए । उनलाई पार्टीले पूर्वी क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको जिम्मा दिएका थियो । समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वाससँग जुध्दै उनले लेखरचनामार्फत समेत माक्र्सवादी विचारलाई फैलाउने काम गरेका थिए । साहित्य, सङ्गीतको मर्म र शक्ति बुझेका एक गायक र कवि पनि थिए ।
देशका गरिब निमुखाको पक्षमा परिवर्तनका निम्ति शासकलाई ठाडो चुनौती दिनसक्ने सशक्त क्रान्तिकारी योद्धा थिए उनी । समाजमा रहेका विभेद र शोषणलाई तोड्न वर्गीय लगाई आवश्यक छ भन्नेमा उनी दृढ संकल्पित थिए । गरिब, मजदुर–किसान जनताको मुक्तिका लागि क्रान्तिमा होमिनुपर्छ र त्यो ज्वारभाटाले ‘निरङकुश पञ्चायती राजतन्त्र’ ढाल्न सकिन्छ भन्ने उनको आत्मविश्वास थियो ।
उनी कुशल संगठक र क्रान्तिकारी योद्धा थिए । परिकल्पना, रचना र सिर्जनामा पनि उनी अब्बल थिए । संगठन गर्न त्यतिबेला निकै कठिन थियो । त्यसमाथि कम्युनिष्ट पार्टीको संगठन गर्न ज्यान हत्केलामा राख्नुपथ्र्यो । रत्नले आफ्नै घरको कोठाबाट सुरुङ खनेर सुरुङभित्रै बैठक कक्ष बनाएका थिए । ६० फिट लामो सुरुङ बनाउने, त्यसभित्र बैठक गर्न सक्ने ठाउँ बनाउने र घरदेखि तलतिर–मास्तिर दुवैतर्फ निस्कन मिल्ने गरी नक्साङकन गरेका थिए । उनले ४० फिट लामो सुरुङ खनेका थिए । ८–१० जना बैठक बस्न मिल्ने फराकिलो ठाउँ पनि बनाएका थिए । उक्त सुरुङ र बैठक कक्ष आज पनि सुरक्षित छ ।
गणतन्त्र र समाजवादी आन्दोलनको प्रेरणाको स्रोत व्यवस्था परिवर्तनका लागि त्याग, बलिदान र समर्पण गर्ने रत्नहरू नै हुन् । कम्युनिष्ट आदर्शलाई अंगिकार गर्दै बलिदान दिने थुप्रै सहिदहरूको सपना साकार पार्न गम्भीर बन्नुपर्ने बेला आएको छ ।
रत्नहरूले त्यसरी संगठन निर्माण गरेर बनाइएको पार्टी नेकपा एमाले आज बिचौलिया, दलाल र नवसामन्तहरूको पार्टीमा रूपान्तरण भएको छ । निष्ठावान्, इमानदार नेता तथा कार्यकर्ता ओझेलमा पर्दै गएका छन् भने बिचौलिया र भ्रष्टहरूले पार्टी कब्जा गर्दै छन् ।
रत्नकै पृष्ठभूमिबाट राजनीतिमा लागेका केपी शर्मा ओली हाल देशको प्रधानमन्त्री छन् । तर, ओली रत्नको सपनामाथि खेलबाड गर्दै छन् । ओलीको अहंकार र घमण्डले पञ्चायती शासकको झल्को दिन्छ । जसका कारण आज गणतन्त्रमाथि नै प्रश्न उठेको छ ।
व्यवस्थालाई बलियो बनाउँदै अगाडि बढ्ने हो भने रत्नलगातका थुप्रै ज्ञात, अज्ञात सहिदको सपना साकार पार्न उनीहरूले देखाएको बाटोमा हिँड्न सक्नुपर्छ । सहिदहरूको सपना जनताको मुक्त थियो । सहिदको त्याग र बलिदानको जगमा सरकारमा पुगेका कम्युनिष्ट नेताहरूले छातीमा हाल राखेर सोच्ने बेला आइसकेको छ–जनता किन निराश र आक्रोशित छन् ?
सरकारको कार्यशैलीकै कारण जनतामा वितृष्णा बढ्दो छ । गम्भीर आत्मसमीक्षा गर्दै अगाडि नबढ्ने हो भने अप्ठेरो दिन आउनबाट कसैले पनि रोक्न सक्दैन । कम्युनिष्ट पार्टीको करिब दुई तिहाइ बहुमत हुँदासमेत जनताको पक्षमा काम नगरी असंवैधानिक रूपमा संसद भंग गर्ने एमाले अध्यक्ष ओलीको कदम इतिकासमा कालो अक्षरले लेखिएको छ । ओलीको त्यही कदमले कम्युनिष्ट आन्दोलन आज विभाजित अवस्थामा छ । र, दिनप्रतिदिन कमजोरी हुँदै गइरहेको छ । तर पनि नेताहरू कमजोरी स्विकार्न तयार छैनन् ।
नेताहरू गम्भीर र जिम्मेवार हुने हो भने सहयोद्धाको त्याग र बलिदानमा भक्कानिनुपर्ने हो । सहिदहरूकै रगत र पसिनाले आज सत्तामा छु भन्ने हेक्का हुनुपर्ने हो । र, मैले पनि केही सकारात्मक योगदान गर्नुपर्छ भन्ने सोचको विकास हुनुपर्ने हो ।
विगतको कष्टपूर्ण दिन मानसपटकमा झलझली आउनुपर्ने हो । रत्नहरूले बलिदान गरेको रातो रगतलाई साक्षी राख्दै नेताहरूले एक पटक गम्भीर आत्मसमीक्षा गरुन् । देशको राष्ट्रियता संरक्षण, जनताका जल्दाबल्दा समस्या सम्बोधन, मुलुकको सामाजिक‐आर्थिक रूपान्तरण र सामाजिक न्याय स्थापित गर्दै रत्नहरूको सपनालाई साकार पार्न वामपन्थी देशभक्त शक्ति एकजुट हुनुको विकल्प छैन ।
रत्नहरूले जनतालाई एकत्रित गर्दै कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउँदै ल्याएका थिए । रत्नले देखेको समाजवादको सपना पुरा गर्न पनि देशलाई समाजवादको बाटोमा अघि बढाउँदै जानुपर्छ । सामाज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवादका शोषण, दमन र उत्पीडनविरुद्ध देशका सम्पूर्ण प्रगतिशील र वामपन्थी शक्तिहरूलाई साझा सवालमा एकताबद्ध बनाएर मात्र समाजवादको दिशामा अघि बढ्न सकिन्छ । सक्किने कि सच्चिने नेताकै मर्जी ।











