Logo
Logo

एआईजी राई पनि आईजीपीको दौडमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख फालिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा समेत त्यसको असर परेको छ । दुवै संगठनका आईजीपीले असुरक्षित महसुस गरेका छन् भने एआईजीहरु उत्साहित भएका छन् ।
नेपाल प्रहरीमा एआईजी पुष्कर कार्की त पहिलेदेखि नै आईजीपीको प्रमुख दाबेदारका रुपमा प्रतिस्पर्धा गरिरहेका छन् । अर्का एआईजी ठूले राईले समेत पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् । सरकार आईजीपी सर्वेन्द्र खनालसँग सन्तुष्ट नरहेको सूचना पाएपछि राईले समेत सक्रियता बढाएको स्रोत बताउँछ ।

ठूले राई

राईको तत्कालीन माओवादी नेताहरुसँग राम्रो सम्बन्ध छ । हुन त उनी द्वन्द्वकालमा माओवादीबाटै अपहरणमा परेका थिए । नेता देव गुरुङसँग साटिएका उनी पछि माओवादीकै विश्वासप्राप्त प्रहरी बन्न पुगे । सोही कारण मनोज न्यौपाने लगायत डीआईजीहरुलाई एआईजी बढुवामा पछि पारेका थिए । कार्यक्षमतामा कमजोर भए पनि नेताहरुलाई खुशी बनाउन बलियो भएकाले उनले आफ्ना समकक्षीहरुलाई उछिन्दै सरुवा बढुवामा अवसर पाउँदै आएका छन् ।
आईजीपीको इमान्दार जस्तो बनेर प्रशासन तथा मानव स्रोत विभागको नेतृत्व गरिरहेका उनले अहिले प्रचण्ड लगायत नेताहरुसँगको भेटघाट बढाएका छन् । यदि आईजीपी हटाउने हो भने म पनि विकल्पमा छु भन्दै उनले लबिङ सुरु गरेको स्रोत बताउँछ ।

मुख्यालयमा ‘छोटे आइजीपी’ आतंक
सरकारको नजरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दिनप्रतिदिन कमजोर बनिरहेका छन् । तर, पनि उनले आफूमा परिवर्तन ल्याउन सकेका छैन्न । खासगरी कमजोर र स्वार्थी टिमकै कारण उनी बदनाम हुँदै गएको टिप्पणी प्रहरी मुख्यालयमा छ । खासगरी उनका सहयोगीहरुले आफू ‘छोटे आईजीपी’ भएको व्यवहार देखाउँदै आएका छन् ।
ट्राफिकमा हुँदा घुसकाण्डमा बदनाम इन्सपेक्टर गोविन्द कार्की आईजीपीको निवासमा कार्यरत छन् । त्यस्तै अर्का बदनाम सई विजय यादवले पनि आफूलाई छोटो आईजीपीका रुपमा प्रस्तुत गर्दछन् । उनै यादवले अहिले पनि मुख्यालयबाट तराईका जिल्लामा घुमुवा पठाएर पैसा असुली गरिरहेका छन् । उनीहरु जस्ता व्यक्तिका कारण पनि आईजीपी विवादमा पर्दै आएका छन् ।
एकातर्फ आईजीपीलाई राम्रोसँग सल्लाह सुझाव दिने टिमको अभाव अर्काेतर्फ असुली धन्दामा सलग्न बदनामहरु सचिवालयमा रहँदा खनालको छवि बिग्रदै गएको छ ।
अमेरिका बस्ने व्यापारी सुबु खत्रीले भने आफूलाई छायाँ आईजीपी भन्दै विभिन्न व्यक्तिहरुसँग लाभ लिदै आएको स्रोत बताउँछ । प्रहरीका ठेक्कामा पनि उनले चासो बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्