Logo
Logo

हिरो बन्न्न खोज्दा संकटमा एसएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरबीच सधैं प्रतिस्पर्धा हुने गरेको छ । अझ एउटै ब्याचका प्रहरी अधिकृत दुवै ठाउँमा इन्चार्ज भएपछि त प्रतिस्पर्धा हुने नै भयो ।
अहिले एकै ब्याचका एसएसपी महाशाखा र परिसरमा इन्चार्ज छन् । महाशाखामा एसएसपी धीरजप्रताप सिंह छन् भने परिसरमा बसन्त लामा । दुवै एसएसपीबीच खासै राम्रो सम्बन्ध छैन । जसकारण सहकार्य पनि हुनसकेको छैन, बरु काम देखाउने प्रतिस्पर्धा छ । यदि त्यो प्रतिस्पर्धा स्वच्छ हुँदो हो त निकै राम्रो हुन्थ्यो, अस्वस्थ प्रतिस्पर्धा हुँदा पुलिसिङ बिग्रदै गएको छ ।
जस्तो कि गत माघ ८ गते दिउँसो बालाजु बसपार्कमा भयो । प्रहरीले वाईसीएलका एक लडाकुलाई पक्राउ गरी गोली हान्यो । हतियार कारोबारीलाई गोली हानिएको भनेर निकै प्रचार गरियो ।
तर, तब वास्तविक अवस्था गृह मन्त्रालयका अधिकारीले थाहा पाए, यो विषय निकै विवादास्पद बनेको छ । प्रहरीले वाईसीएलका काभ्रे अध्यक्ष अभिलास लामालाई गोली हानेको थियो । उनी वाईसीएलका नेता भएको सुरुमा प्रहरीलाई थाहा थिएन । उनको विरोधी समूहले काठमाडौं परिसरका घुुमवा टोलीलाई गलत सूचना दिएर गोली हान्न लगाएको थियो ।
अर्काेतर्फ पक्राउ गरिसकेपछि गोली हानेको समेत विषय प्रष्ट भएको छ । आफ्नो काम देखाउनकै लागि एसएसपी लामाले गोली हान्न लगाएको खुल्यो । तर, नेकपा नेताहरुले गृहमन्त्री रामबहादुर थापासँग उजुरी गरेपछि एसएसपी लामा संकटमा परेका छन् । वाईसीएलका नेताहरुले सामाजिक सञ्जालमै एसएसपी लामा, डिएसपी होबिन्द्र बोगटी र इन्सपेक्टर अनिल ठकुरीलाई कारबाही गर्न माग गरको छन् ।
एसएसपी लामाले डिएसपी बोगटीको नेतृत्वमा सिभिल टोली खटाएर असुली र सेटिङ मिलाउने गरेका छन् । गुन्डाहरुसँग हिमचिम भएका र बलात्कार मुद्दामा मिलापत्र प्रयास गरेको आरोपमा सर्लाहीबाट कारबाहीमा परी हटाइएका इन्स्पेक्टर ठकुरीलाई घुमुवाका रुपमा राखेका छन् ।
यसरी चर्चाका लागि प्रहरीले जभाभावी गोली हान्ने प्रवृत्ती बढ्दै छ । राष्ट्रिय मानवअधिकार आयोगमा समेत यससम्बन्धि सेटिङ प्रहरीले मिलाउन थालेको छ । आयोगका सदस्य सुदीप पाठक प्रहरीबाट प्रभावित बन्न थालेपछि हालै उनको अनुसन्धानको जिम्मेवारी समेत खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस्