पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु३च २३५७ नम्बरको जिप आइतबार राति करिब साढे १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ ।