काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी र सदस्यका लागि ३४ जना छनोट भएका छन् । निवेदन दिएका १११ जनाबाट सिफारिस समितिले ३४ जनाको नाम सर्टलिस्टमा राखेर उजुरी आह्वान गरेको छ ।

अध्यक्षका लागि अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौला, विजयसिंह सिजापति र शेरबहादुर केसी सर्टलिस्टमा परेका छन् । अध्यक्षका लागि ३० जनाले आवेदन दिएकामध्येबाट उनीहरु छानिएका हुन् ।
दुई आयोग अध्यक्षसहित ५ सदस्यीय रहनेछ । सदस्यका लागि आवेदन परेकोबाट समितिले २७ जनाको नाम छानेको छ ।
आज सार्वजनिक गरिएको सूचना अनु्सार छानिएका ३४ जनाविरूद्ध कुनै उजुरी भए वैशाख २० गतेसम्म समितिको कार्यालयमा आइपुग्नेगरी लिखित वा अनलाइनबाट प्रमाणसहित दिन सकिने छ । समितिले सर्टलिस्टमा परेका ३४ जनालाई प्रस्तुतीकरण दिने समय पनि तोकेको छ ।
सूचीको १ देखि ६ नम्बर क्रमसंख्यासम्म भएकाले वैशाख २४ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म, ७ देखि ११ सम्म सोही दिन दिउँसो २ बजेदेखि ३ः४० बजेसम्म, क्रमसंख्या १२ देखि १७ सम्म परेकाले २५ गते बिहान ११ देखि १ बजेसम्म र १८ देखि २३ नम्बरसम्म रहेकाले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रस्तुतीकरण दिने तय गरिएको सूचनामा उल्लेखछ ।
त्यस्तै क्रमसंख्या २४ देखि २८ सम्म रहेकाहरूले वैशाख २६ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र क्रमसंख्या २९ देखि ३४ सम्म परेकाहरूले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रस्तुतीकरण दिनेछन् । उजुरी र प्रस्तुतीकरणको मूल्यांकनपछि समितिले पदाधिकारी र सदस्यहरूका लागि सरकारलाई सिफारिस गर्छ ।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुई आयोगको पदाधिकारी सिफारिस समिति गठन गरेको थियो ।
