Logo
Logo

प्रहरी दमनपछि झनै चर्किँदै शिक्षक आन्दोलन, यस्तो छ महासंघको अपिल


1.7k
Shares

काठमाडौं । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । आइतबार भएको प्रदर्शनका क्रममा शिक्षकमाथि प्रहरीले धरपकड गर्दा दर्जनौँ घाइते भएका छन् ।

फाइल फोटो

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।

महासंघले विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’

आइतबार शान्तिपूर्ण आन्दोलन र विरोधसभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ ।

बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ ।

‘हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ । हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भत्र्सना गर्दछौँ’ अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यालय शिक्षाको सुधार र शिक्षक–कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । शिक्षक–कर्मचारीमाथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्