काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा आज काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सँगै सहभागी हुने भएका छन् ।

काठमाडौंको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा नेपालले सभा आयोजना गरेको छ । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष लिङ्देनलाई पनि बोलाइएको छ ।
अध्यक्ष लिङ्देनले कार्यक्रममा सहभागी हुने जानकारी गराएका छन् । कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइएको भनेर उनी राप्रपाबाट अलग भएका थिए ।
थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् । सोही क्रममा उनीहरू आज एउटै मञ्चमा देखिन लागेका हुन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूसहित चार जनाको फोटो पोष्ट गर्दै पहिलो पटक एक ठाउँमा भेला हुन लागेको लेखेका छन् ।
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा स्वागत गर्ने कार्यक्रममा कमल थापा पनि सहभागी भएका थिए । यसैगरी चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको कार्यक्रममा पनि राप्रपा र राप्रपा नेपालका नेताहरू सहभागी थिए ।