काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सरकारसँग शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न आह्वान गरेका छन् ।

खनालले विगत २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग ऐक्यबद्धता जनाउँदै सरकारले मागहरू बेवास्ता गर्दै तानाशाही शैलीमा दमन गरेको आरोप लगाए । आइतबार आन्दोलनरत शिक्षकहरू बिच पुगेर ऐक्यबद्धता जनाउँदै खनालले भने, ‘सरकारले तानाशाही प्रवृत्तिमा उत्रेर आन्दोलन दमन गरिरहेको छ, जुन हामी घोर भर्त्सना र विरोध गर्दछौं। शिक्षकहरू हाम्रो देशका बालबालिकाका गुरुआमा हुन् । उनीहरूको मागलाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ, नत्र सरकार ठुलो जनआन्दोलनको सामना गर्नुपर्नेछ ।’
खनालले शिक्षकहरूको माग नसुनिनु सरकारको अकर्मण्यता र जनविरोधी चरित्रको परिचायक भएको टिप्पणी गरे । उनले देशमा ठुला राजनीतिक परिवर्तन भए पनि अझै पनि शिक्षा क्षेत्रमा २०२८ सालको पुरानो ऐन लागू भइरहेको तथ्य उठाउँदै, नयाँ ऐन ल्याउन सरकार असफल भएको आरोप लगाए ।
आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा कुल बजेटको १६ प्रतिशत छुट्याएको स्मरण गर्दै खनालले त्यसपछिका सरकारले शिक्षा क्षेत्रमा पर्याप्त ध्यान नदिएको बताए ।
शिक्षकहरूको आन्दोलनमा अन्तिमसम्म साथ रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले नेकपा एसका नेतृ रामकुमारी झाँक्रीद्वारा आन्दोलनको आलोचना गरिएको विषयमा टिप्पणी गर्दै भने, ‘आन्दोलनको विरोध गर्नु गलत हो। पार्टीको स्पष्ट धारणा आन्दोलनको समर्थनमा रहेको छ।’ नेकपा एकीकृत समाजवादीले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संघर्षमा साथ रहने घोषणा गरेको छ।