Logo
Logo

बयान क्रममा रवीन्द्र मिश्रको ठट्टा: ‘पत्रकार हुँदा यति कडा प्रश्न सोधिनँ’


2.7k
Shares

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको प्रहरीसमक्ष बयान सकिएको छ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई ‘राज्यविरुद्धको कसुर’ मुद्दामा कारबाही अघि बढाएको हो ।

मिश्रसहित २५ जना प्रदर्शनकारीहरूलाई सोही आरोपमा थुनामा राखिएको छ । दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा उनीहरूको संलग्नता थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, मिश्रसहित १६ जनाको बयान प्रक्रिया सकिएको छ । बाँकीको बयान जारी छ । बयानका क्रममा मिश्रले आफ्नो अतीतको पत्रकारिता जीवनलाई सम्झँदै केही ठट्टा पनि गरेका थिए । बिबिसीमा पत्रकारका रूपमा कार्यरत रहँदा आफैँले सोध्ने प्रश्नहरूको तुलना गर्दै मिश्रले अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका कर्मचारीहरूलाई भने, ‘म पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईँहरूका प्रश्न त अझ कडा रहेछन् ।’

मिश्रलाई मुख्यतः प्रदर्शनका दिन मञ्चबाट भिडलाई उत्तेजित गरेको आरोपबारे प्रश्नहरू सोधिएको थियो । मिश्रले मञ्चबाट ‘अगाडि आउनुस्’ भनेको स्वीकार गरे तर प्रहरी घेरा तोड्न वा तोडफोडका लागि भिडलाई उक्साएको आरोप भने अस्वीकार गरेका छन् । 

मिश्रले आफ्नो बयानमा प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गराउने वा मानिसको ज्यान जोखिममा पार्ने कुनै किसिमको निर्देशन आफूले नदिएको प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैले मञ्चमा उभिएर अगाडि आउनुस् भनेको हो, पछि हट्नुस् भन्नु त हुन्न नि। तर तोडफोड वा हिंसा गर भन्न भनेको होइन।’

चैत १५ गतेदेखि हिरासतमा रहेका मिश्रसँगै थुनामा रहेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने हाल हाजिर जमानीमा छुटिसकेका छन् । मिश्र भने अझै प्रहरी हिरासतमा छन् ।

अहिलेसम्म मिश्र र उनका समर्थकमाथि लागेको आरोप सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ। राज्यविरुद्धको कसुरमा दोषी ठहरिए गम्भीर सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्