Logo
Logo

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिलाई बुझाइयो


189
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको छ । संसदीय उपसमितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवेदन समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

गत असार १४ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन, अनुगमन तथा छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो। पोखरा विमानस्थलको छानबिन उपसमितिको संयोजक लिङ्देन थिए ।

उक्त उपसमितिमा सांसदहरू शशी श्रेष्ठ, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य रहेका छन् ।

त्यसैगरी, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरिएको छ। यस उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

राज्यको अर्बौँ लगानी भए पनि अपेक्षित प्रतिफल नआएपछि यी विमानस्थलहरूको प्रभावकारिता मूल्याङ्कन गर्न अध्ययन गरिएको हो । पोखरा विमानस्थलमा करिब २४ अर्ब रुपैयाँ खर्च भएको थियो, जसको निर्माण २०७९ पुसमा सम्पन्न भई उद्घाटन गरिएको थियो । यस्तै, करिब ३० अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको भैरहवा विमानस्थल २०७९ जेठमा उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस्