काठमाडौं । नेपालको राजनीतिमा बेलाबखत भारतीय खुफिया एजेन्सीहरुको गम्भीर घुसपैठ हुने गरेको छ । नेपालमा अस्थिर राजनीतिक गतिविधि हुनुमा भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ)को हात रहेको चर्चा गरिन्छ । त्यसको केही हदसम्म पुष्टि समेत भएको छ ।

तत्कालीन नेकपाकालीन सरकार गिराउन र नेकपा फुटाउने काममा रअका तत्कालीन प्रमुख सामान्तप्रसाद गोयलको ठूलो हात रहेको थियो । बालुवाटारको बेडरुमसम्म पुगेर केपी ओलीलाई उकास्नु र नेकपालाई फुटाउने रअको प्रमुख उद्देश्य पूरा भएको थियो ।
भारतीय पुलिस सेवा (आइपिएस)का वरिष्ठ अधिकारी रवि सिन्हा पछिल्लोपटक भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ) को नयाँ प्रमुखका रूपमा नियुक्त भएपछि नेपालमा एक पटक सरकार परिवर्तन भयो । उनी प्रमुख हुँदा प्रचण्डको नेतृत्वमा सरकार रहको थियो । त्यसपछि केपी ओलीको नेतृत्वमा सरकार गठन भयो । यो सरकार गठन भएपछि भारत सरकार असन्तुष्ट रहेको छ भन्ने कुरा सर्वविदितै छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तर्राष्ट्रिय सेमिनर र गोष्ठीमा दुईपटक भेटघाट भए पनि भारत भ्रमणको निम्तो आउन सकेको छैन । पछिल्लो पटक मोदीको दूतका रुपमा रवि सिन्हाका प्रतिनिधिका रुपमा नेपालमा रहेका अंशुल शर्माले प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्ड तथा सत्ता पक्षकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कोसिस गरेका थिए ।
त्यसमा विपक्षी दलका नेता पुष्पकमल दहाल प्रचण्डसँग भेटघाट भएपनि ओली र देउवासँग भेटघाट हुन सकेको छैन । ओलीले शर्मालाई भेट्ने कुनै पनि इच्छा व्यक्त गरेनन भने उनले मोदीसँगै टेलिफोन वार्ता गरेर अंशुललाई टाढा राखे । साथै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद विरोधी नीतिमा समर्थन गरे ।
यसैबीचमा देउवा थाइल्याण्ड गएपछि उतैबाट रअका प्रतिनिधिले भेटघाट गरे हल्ला चल्यो । आखिर यो प्रमाणिक हुने विषय थिएन । नेपालको सरकारमा ओली प्रवृत्तिलाई पन्छाउने जिम्मेवारी पाएका रवि सिन्हाले हर कोसिस गरिरहेको स्रोतको दाबी छ । यद्यपि, यो सरकार आफै असफल भएकाले पनि हटाउने कोसिसमा भारतीय सस्थापन पक्षले जोड गरिरहेको छ ।
छत्तिसगढ क्याडरको १९८८ ब्याचका भारतीय पुलिस सेवा (आइपिएस) अधिकारी सिन्हा रअका प्रमुख नियुक्ति अघि मन्त्रीमण्डल सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । मन्त्रीमण्डलको नियुक्ति समितिले ५९ वर्षका सिन्हालाई दुई वर्षको कार्यकालको नियुक्तिका लागि सिफारिस गरेको थियो । सिन्हालाई गोप्य जानकारी जुटाउन उत्कृष्ट प्रविधि समावेश गर्नमा श्रेय दिइन्छ । सिन्हाले सामन्त कुमार गोयलको स्थानमा नियुक्ति पाएका हुन ।
उनको कार्यकाल ३० जून, २०२३ मा पूरा भएको थियो । सामन्त गोयल पन्जाब क्याडरका आइपिएस हुन् । सामन्त गोयलको कार्यकालमा नै पाकिस्तानको बालाकोटमा एयरस्ट्राइक गरिएको थियो । यसका साथै जम्मू कश्मिरबाट अनुच्छेद ३७० लाई हटाइएको थियो । रवि सिन्हा विहारको भोजपुर जिल्लाका हुन् । रवि दिल्लीको सेन्ट स्टिफेन्स कलेजमा पढेका थिए । उनले सन् १९८८ मा युपीएससीको परीक्षा पास गरेका थिए र त्यसपछि उनले भारतीय पुलिस सेवाको अधिकारीको रूपमा मध्य प्रदेशको क्याडर पाए ।
तर सन् २००० मा तत्कालीन अटल बिहारी वाजपेयीको सरकारले मध्य प्रदेशको आदिवासी बहुल इलाकालाई काटेर छत्तिसगढ राज्यको निर्माण गरेपछि सिन्हा प्राविधिक रूपमा छत्तिसगढ क्याडर गएका थिए । रअको कमाण्ड सम्हालेपछि उनले इन्टिग्रेटेड टेक्नोलोजी र ह्युमन इन्टेलिजेन्सलाई साथमा लिएर काम गर्दैै आएका छन् । नेपालमा पनि उनले जनशक्ति थप गरेर काम गरिरहेका स्रोतको दाबी छ ।