Logo
Logo

धरानबाट चोरी भएको बस विराटनगरमा फेला, पार्टपुर्जा कवाडीमा भेटियो


2.6k
Shares

काठमाडौं । धरानबाट हराएको यात्रुबहाक बस चार दिनपछि विराटनगरमा फेला परेको छ । शुक्रवार बिहान धरान उपमहानगरपालिका–८, दुर्गापथस्थित एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस मङ्गलवार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारेमा बेवारिसे अवस्थामा फेला परेको हो ।

बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। ग्यारेजबाट हराएको उक्त बसको केही पार्टपुर्जा निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतअनुसार बसको विभिन्न पार्टपुर्जा विराटनगर–६ मा गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ ।

बस चोरीको घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । सीसीटीभी फुटेजका अनुसार बस पूर्व–पश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगरतर्फ गएको देखिएको थियो। तर बस चार दिनसम्म फेला परेको थिएन ।

स्थानीयले मंगलबारेमा बेवारिसे अवस्थामा बस देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहाडी रुटमा चल्ने सो बसको अगाडिको सिसामा माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सङ्गठित गिरोहको संलग्नता आशङ्का गरिएको ।

प्रतिक्रिया दिनुहोस्