काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढिरहेको बेला पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्धको खतरा रहेको चेतावनी दिएका छन्।
जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो । गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा भएको उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।

यसरी तनाव बढिरहेको बेला रक्षामन्त्री आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका हुन् । उनले युद्धको खतरा रहेको त्यसलाई टार्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘यदि केही भयो भने दुई–तीन दिनभित्र हुन सक्छ । तत्काल खतरा छ ।’
चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले युद्ध रोक्न मध्यस्थता गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले पनि दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ ।
यसैबीच, सीमा क्षेत्रमा बिहीबार राति दुवै पक्षबीच गोली हानाहान भएको छ । पाकिस्तानले कश्मीरको विवादित नियन्त्रण रेखा नजिक भारतको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी सरकारी टेलिभिजनले रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यो जानकारी दिएको हो ।
सीमा क्षेत्रमा निगरानीका लागि प्रयोग हुने साना ड्रोनहरू दुवै पक्षले विगतमा पनि खसालेका छन् । तर, यसपटक दुई आणविक शक्ति सम्पन्न राष्ट्रबीच तनाव उच्च रहेको बेला पाकिस्तानले यस्तो दाबी गरेको हो । भारतले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।