Logo
Logo

उपभोक्ता अधिकार हनन गर्ने ४ उद्योगलाई जरिवाना


441
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार हनन गरेको भन्दै चार उद्योगलाई जरिवाना गरेको छ । मङ्गलवार विभागले गरेको नियमित बजार अनुगमनका क्रममा विभिन्न उद्योग तथा फर्महरूमा अनियमितता भेटिएपछि ३ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित कजरिया रमेश टायल्स लिमिटेडलाई उत्पादनमा रिलेबलिङ, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

त्यस्तै, ललितपुर महानगरपालिका–२० मा रहेको श्री न्यु बीआर इन्टरप्राइजेजलाई खरिद बिलबिजक नराखेको पाइएपछि २० हजार रुपैयाँ, काठमाडौं महानगरपालिका–६ मा रहेको सान्वी एन्ड रिंकु हार्डवेयरलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार रुपैयाँ र गोकर्णेश्वर नगरपालिका–५ स्थित एनए सप्लायर्सलाई उत्पादनमा रिलेबलिङ र मूल्य हेरफेर गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कजरिया रमेश टायल्स लिमिटेड र एनए सप्लायर्समाथि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम कारबाही गरिएको हो। अन्य दुई उद्योगलाई ऐनको दफा ३८ (ट) तथा ३८ (घ) बमोजिम तथा दफा ३९ को उपदफा १ (घ) र १ (क) अनुसार कारबाही गरिएको छ ।

अनुगमनका क्रममा विभागले अन्य ३ उद्योगलाई सामान्य निर्देशन दिएको छ भने ४ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्