Logo
Logo

माओवादी शिक्षक वार्ता भाँड्न खोजिरहेको छ : एमाले


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न लागिरहेको आरोप लगाएका छन् ।

मङ्गलवार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्‍मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’

‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने । निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं,’ उनले भने । 

माओवादी केन्द्रले आन्दोलनरत शिक्षकलाई सडक नछोड्न पटक९पटक आग्रह गरेर वातावरणलाई उत्तेजित बनाएको उनको आरोप छ । प्रमुख प्रतिपक्षी दलले शिक्षक आन्दोलनलाई राजनीतिक रङ दिएको भन्दै उनले संसद्मा पनि यही विषय ल्याएर अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भनेर बिथोल्न खोजेको आरोप लगाए ।

शिक्षकका जायज मागहरू पूरा गर्न सरकार गम्भीर रहेको भन्दै उनले वार्ता प्रक्रियामा व्यवधान नपुर्‍याउन समेत विपक्षी दलहरूलाई उनले आग्रह गरे । राज्यले धान्ने जायज मागहरू पूरा गर्ने वातावरण बनाइ शिक्षकलाई नियमित पठनपाठनमा फर्किने वातावरण सरकारले बनाइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्