Logo
Logo

‘ओलीले देउवालाई कुनै हालतमा सत्ता हस्तान्तरण गर्दैनन्’


पूर्णबहादुर तामाङ (कान्छाराम), कांग्रेस सांसद तथा निवर्तमान उर्जाराज्यमन्त्री

57.3k
Shares

उद्योगीसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको आठ अर्ब बक्यौता उठाउन विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथ दिएका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पनि सरकारले बर्खास्त गरेको छ । कुलमानलाई पदमुक्त गरेको एक महिनामा राज्यमन्त्री तामाङलाई पनि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।

उद्योगीसँग बक्यौता उठाउन पटक–पटक प्रयास गरेका कुलमानलाई प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले अवरोध गर्दा राज्यमन्त्री तामाङले सार्वजनिक रूपमै सरकारको आलोचना गरेका थिए ।

ऊर्जामन्त्री खड्काले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा पनि राज्यमन्त्री तामाङले हास्यास्पद भन्दै राम्रो काम गर्ने कर्मचारीलाई हतोत्साहित गर्न नहुने बताएका थिए । जनस्तरबाटै कुलमानजस्ता कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने आवाज उठिरहेको बेला कुलमानको पक्ष लिएबापत राज्यमन्त्री तामाङ पनि बर्खास्तीमा परे । उनै बर्खास्तमा परेका उर्जाराज्यमन्त्री तथा सत्ता साझेदार दल कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)सँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईँलाई बर्खास्त गर्नुको कारण के हो ?
उद्योगीले उपयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको अर्बौ रुपैयाँ बक्यौता उठाउनुपर्छ भनेर मैले निरन्तर खबरदारी गर्दै आएँ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने सन्दर्भमा अदालतले समेत आदेश दिइसकेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको बक्यौता उठाउने अडान ठिक छ भनेर मैले साथ दिएँ । उक्त कुरा प्रधानमन्त्री ओलीलाई मन परेको थिएन । त्यसैले हटाउनुभयो होला ।

हटाउनुअघि तपाईँलाई जानकारी दिइएको थियो ?
मलाई चार बजेर २३ मिनेटमा गृहमन्त्री (रमेश लेखक)ले फोन गर्नुभयो र भन्नुभयो– तपाईँले राजीनामा दिनुप¥यो । मैले प्रश्न गरेँ–मेरो राजीनामा कसले माग्यो ? गृहमन्त्रीले भन्नुभयो– प्रधानमन्त्रीले माग्नुभयो । मैले जवाफ फर्काएँ–मैले प्रधानमन्त्रीलाई राजीनामा दिन मिल्दैन । मलाई दलले सिफारिस गरेर मन्त्री बनाएको हो, दलले नै फिर्ता बोलाउनुप¥यो नि ? पार्टीले फिर्ता बोलायो भने म तत्काल राजीनामा दिन्छु । एमालेका अध्यक्षले राजीनामा दे भनेको भरमा म राजीनामा दिन्नँ । त्यसपछि ५ बजेपछि त हटाइदिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग सल्लाह नगरी प्रधानमन्त्री ओलीले मात्रै तपाईँलाई हटाउन सक्छन् त ?
पार्टी सभापति शेरबहादुर देउवा विदेश जाँदा बिदाइका लागि म पनि विमानस्थल गएको थिएँ । देउवाले मलाई भन्नुभएको थियो–‘जे हुनु भइसक्यो अब त्यो कुलमानको विषयमा धेरै नबोल्नू ।’ मैले भनेँ–क्याबिनेटले निर्णय गरेपछि कुनै दिन बोलेको भेटे कारबाही गर्नुहोला, मैले बोलेको छैन । उहाँले ‘ल ल ठिक छ’ भन्नुभयो । मैले आरजु भाउजुलाई खादा लगाइदिए । आरजुले पनि ‘तपाईँको रिपोर्ट राम्रो छैन । प्रधानमन्त्री रिसाउनुभएको छ’ भन्नुभएको थियो । उहाँ दुवै विदेशमै भएको बेला ओलीले मलाई हटाइदिए । पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का कसैले पनि मलाई भन्नुभएको छैन । हाम्रो संसदीय दलको नेता त शेरबहादुर देउवा हो । उहाँले फिर्ता बोलाउनुभएको छैन । काँग्रेसको सभापति पनि अहिले ओलीले चलाएको जस्तो भएको छ ।

काँग्रेसले नभई प्रधानमन्त्री ओलीले हटाएको तपाईँको बुझाइ हो ?
मलाई केपी ओलीले हटाउने हो ? हेपेको हो ? काँग्रेसको दुई–दुई चोटि सभापति भएको, पाँच–पाँच चोटि प्रधानमन्त्री भएको देउवाले ओलीको अब प्रतिकार गर्नुपर्छ । ओलीले काँग्रेसका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरूको अपमान गरिरहेका छन् । देश र जनताको हितमा काम गर्ने ओलीको कुनै योजना छैन । उनी आफ्नै स्वार्थ पूरा गर्ने काममा मात्रै लागेका छन् । त्यसका कांग्रेस फस्नु हुँदैन ।

तपाईँ बर्खास्तमा पर्नुको आक्रोश त होइन यो ?
पद अस्थायी हो । केही समयपछि हट्नु थियो, ओलीले अहिले नै हटाइदिए । यसले मलाई केही फरक पर्दैन । म मन्त्रीक्वार्टरमा बसेको थिइनँ, आफ्नै घरमा बसेको थिएँ । मेरो चढ्ने गाडी आफ्नै छँदै छ, मन्त्रीबाट हटेपछि ट्याक्सी चढ्नुपर्दैन । एउटा जनजातिको छोरालाई राष्ट्रको पक्षमा उभिँदा अपमानजनक ढंगले निकाल्ने काम भयो । पहिला कुलमानलाई हटायो, अहिले मलाई निकाल्ने काम भयो । अब हामी ओलीलाई छिटो निकाल्ने प्रयत्न गर्छौँ । ओलीले पनि पद छाड्नुपर्छ एक दिन । आजीवन प्रधानमन्त्री खाने त होइन होला ।

प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच छ भनेर तपाईँकै महामन्त्रीको आरोप छ, तपाईँले ९ महिना मन्त्री हुँदा के अनुभव गर्नुभयो ?
बिचौलियाको प्रभाव पूरै छ । खोइ त गभर्नर बनाउन सकेको ? गभर्नर खाली भएको एक महिना हुन लागिसक्यो । मुलुक ग्रे लिस्टमा छ । सरकार कहाँ छ ? कसको हातमा छ सरकार ? ओली यो देश बनाउने पक्षमै छैनन् । चैत २८ गतेको एउटा कार्यक्रममा ओली र मसँगै थियौँ । त्यहाँ ओलीले १ घण्टा २२ मिनेट बोल्नुभयो । सुगा रटाइ मात्रै छ उहाँमा । देशको प्रधानमन्त्रीले सुगाको उखान गर्ने कि देश विकासको चिन्ता गर्ने ? सात प्रदेशमा, ७७ जिल्लामा के भइरहेको छ, गरिब कहाँ छ ? धनी कहाँ छ ? भन्ने चिन्ता हुनुपर्ने होइन ? प्रधानमन्त्रीले उखान भनेर देश चल्छ ? एमालेसँग कांग्रेस सरकारमा बस्नु भनेको जानीजानी विष खानु हो । कांग्रेसलाई ठुलो घाटा छ । अस्ति कुलमानको विषयमा कांग्रेसलाई घाटा पर्छ भनेर मैले अलिकति रिक्स लिएरै बोलेको हो । ओलीले त्यही रिसिइबी गरेर अहिले मलाई हटाए ।

एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले त गभर्नर नियुक्तिमा २० करोडको डिल गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्री बर्खास्त गरेको आरोप लगाउनुभएको छ नि ?
केपी ओली र शेरबहादुर देउवाले नसकेको गभर्नर नियुक्ति मैले गर्न सक्छु होला ? यदि, मैले त्यसरी गभर्नर नियुक्त गर्न सक्ने भए ओलीले हटाउथे त ? म चुनौती दिन चाहन्छु, यो आरोप पुष्टि गर्नुस् ।

प्रधानमन्त्री ओलीकै नेतृत्वमा सुशासन आयोग गठन भएलगत्तै तपाईँ बर्खास्त हुनुभयो ?
सुशासन गफमा होइन, व्यवहारमा देखिनुपर्छ । बक्यौता नतिर्ने उद्योगीको पक्षमा उभिएर सुशासन हुन्छ ? प्रधानमन्त्री यो देशको सर्वोच्च अदालतभन्दा ठूलो हो ? सर्वोच्च अदालतको आदेश सबैले मान्नुपर्छ । भोलि केपी ओलीको कुनै काण्ड प¥यो भने जेल सजाय तोक्ने त श्रीमानहरू नै हुनुहुन्छ नि ? अदालतले डेडिकेटेड र टंकलाइनको बक्यौता तिर्नुपर्छ भनेर दिएको आदेशमा ओली न्यायाधीश बन्ने ? मलाई त्यसमा चित्त नबुझेको हो । साढे २ वर्ष मेरो सांसद पद बाँकी छ । माननीयको रुपमा पनि म त्यो कुरा उठाइरहन्छु । भोलि माननीय नहुँदा पनि यो कुरा उठाइरहन्छु । डेडिकेटेड र टंकलाइनको बक्यौता तिर्नुपर्छ भन्ने न्यायालयको आदेश छ । मैले कुलमानले भनेबमोजिम मात्रै डेडिकेटेड र टंकलाइनको पैसा तिर्नुपर्छ भनेको होइन, म न्यायालयको पक्षमा गएको हुँ । यो देश बचाउनुपर्छ, देश बच्यो भने मात्रै हामी बच्न सक्छौँ भन्ने मेरो मान्यता हो ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग एउटा राज्यमन्त्रीले टक्कर गरेर हुन्छ त ?
गलत काम भयो भने राज्यमन्त्रीले मात्रै होइन, एउटा नागरिकले पनि टक्कर दिनुपर्छ । लोकतान्त्रिक व्यवस्थामा कसैको निरङ्कुशता मान्य हुँदैन । पहिला पञ्चायतकलामा जय नेपाल हलमा फिल्म हेर्दा पारिपट्टि उत्तरढोकामा हेर्न दिँदैनथ्यो । पुलिसले लगेर थुन्थ्यो । अहिले ओलीलाई ठाडो नजरले हे¥यो कि पञ्चायतको भन्दा ठुलो शासन छ ओलीको । शिक्षामन्त्री विद्या भट्टराईले कुलमानलाई हटाउनुहुन्न भनेर क्याबिनेटमा भनेकै कारण राजीनामा दिन बाध्य हुनुप¥यो । विद्याको पार्टी एमाले थियो, उहाँले राजीनामा दिनुभयो । म एमालेको नभएकाले मैले राजीनामा दिइनँ ।

चार महिना मात्रै बाँकी हुँदा कुलमान घिसिङलाई हटाउनुपर्ने बाध्यता के रहेछ ?
कुलमानलाई हटाउनै पर्ने भए पनि सम्मान गरेर बिदा गर्न सकिन्थ्यो । गठबन्धन सरकार छ, तपाईँले कार्यकारी पद छाडिदिनुस् भनेको भए सायद कुलमानले छाडिदिनुहुन्थ्यो होला । मैले उर्जामन्त्रीलाई भने– कुलमानको कार्यकाल थोरै छ । जनताले कुलमानलाई रुचाएका छन् । कुलमानको काम पनि राम्रो छ । कुलमानलाई चलाउदा बदनाम भइन्छ । कुलमानलाई हटाउँदा पार्टीलाई घाटा पर्छ । काँग्रेसबाट आज तपाई मन्त्री, म राज्यमन्त्री छौँ । कुलमानलाई हटाउँदा भोलि जनताले भोट हाल्दैनन् । उर्जामन्त्रीले भन्नुभयो–आजबाट मेरो कुलमानलाई हटाउने कुनै मनसाय छैन । शेरबहादुर देउवा र केपी ओलीले हटाएछन् भने मलाई थाहा छैन । मबाट हटाउने कुनै कुरा छैन । हाम्रो यो संवाद हुँदा उर्जामन्त्रीका सल्लाहकार प्रबल अधिकारी पनि सँगै हुनुहुन्थ्यो ।

कुलमान र तपाईँ एउटै जिल्लाको र एउटै थरको भएर सपोर्ट गर्नुभएको हो ?
मेरै जिल्लाको तामाङ भए पनि कुलमान घिसिङसँग त्यस्तो राम्रो चिनजान होइन । मेरो घर सोलुखुम्बुको सीमानामा पर्छ । उहाँको घर काभ्रेको सीमानामा पर्छ । ऊर्जा राज्यमन्त्री बन्नुभन्दा पहिला सँगै बसेर चिया पनि खाएको छैन । हाउसबाट निस्कनासाथ मलाई पत्रकारले सोधे–कुलमानको विषय के हो ? दुई घण्टाअघि मन्त्रीसँग कुरा गर्दा हटाउँदिन भनेको छ । मैले भनिदिएँ–कुलमान घिसिङलाई हटाउन हुन्न । हट्दैन । त्यसपछि प्रधानमन्त्रीसँग विवाद बढ्दै गयो । डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने कुलमानको काममा मैले समर्थन गरेकै हो । बक्यौता तिर्नुपर्छ, नतिरे लाइन काट्नुपर्छ भन्ने अडान मैले राखेकै हो ।

त्यसपछि प्रधानमन्त्रीले बोलाएर पनि कुरा गर्नुभयो कि ?
त्यसरी बोलाएर कुरा गर्नुभएन । बरु, मैले हाउसमा प्रधानमन्त्रीलाई नमस्कार भन्दा कालो मुख लगाउनुभयो । उहाँ आफ्नो कार्यकक्षमा पस्नुभयो, म हाउसमा बसेँ । त्यसपछि परराष्ट्रमन्त्री आरजु राणा आउनुभयो र भन्नुभयो–तपाईँसँग प्रधानमन्त्रीज्यू साह्रै रिसाउनुभएको रहेछ, तपाईँ गएर एकचोटी माफी मागिदिनुप¥यो । मै पनि के निहुँ पाउला भनेर बसेको थिएँ । मैले भनेँ–म नेपाली काँग्रेसको माननीय । शेरबहादुर देउवालाई संसदीय दलको नेतामा भोट हालेको सांसद हुँ म । मलाई सरकारमा नेपाली काँग्रेसले पठाएको हो । कुलमानको विषयमा केपी ओलीसँग माफी मागेर मलाई मन्त्री बनिराख्नु छैन । कुलमान नहटेको बेलाको कुरा हो यो । त्यसपछि कुलमानलाई हटाए ।

कुलमान हटेपछि त विवाद सकिनुपर्ने नि ?
कुलमान हटेपछि फेरि अर्को विवादित काम भयो । उर्जासचिवको नेतृत्वमा डेडिकेटेड र टंकलाइनको विषयमा एउटा समिति बनाएर अघि बढ्ने कुरा सुने । मैले त्यस्तो काम नगर्नुस्, खबरदार भने । यस्तो कामले भोलि फस्छ है भनेँ ।

उर्जामन्त्री दीपक खड्का र तपाईँ त एउटै पार्टीको हुनुहुन्छ । किन कुरा मिलेन ?
असार २६ गते राति १० बजेर १३ मिनेटमा दीपक खड्काले फोन गरेर भन्नुभयो– हाम्रो कुरा मिल्यो, तपाईँलाई ऊर्जा राज्यमन्त्रीमा लाने भइयो । हामी सँगै बसेर काम गर्नुपर्छ । उहाँ ३१ गते मन्त्री हुनुभयो । शपथमा म पनि गएँ । उहाँले ‘आउनुस् जाऔँ’ भन्नुभयो । म उहाँको झन्डावाला गाडीमा चढेँ । बाटोमा मैल सोधेँ–तपाईँको झन्डावाला गाडीमा चढेपछि मेरो राज्यमन्त्री कटौती हुने त होइन ? उहाँले भन्नुभयो–कहाँ त्यस्तो हुन्छ ? उहाँको अफिस पुगेपछि के भन्नुभयो भने–तपाईँ मन्त्री भइहाल्छ, तपाईँले मलाई कुलमान हटाउन सहयोग गर्नुपर्छ । मैले उहाँलाई भनिदिएँ–तपाईँ मन्त्री हुनुहुन्छ, तपाईँ क्याबिनेटमा जानुहुन्छ । तपाईँको अधिकारलाई म सपोर्ट गरिहाल्छु नि । त्यसपछि साउन १८ गते म उर्जाराज्यमन्त्री भएँ । तर, त्यसपछि मलाई उहाँले कुनै दिन पनि सल्लाह गर्नुभएन । ४२ सालदेखि मेरो निर्माण निर्माण व्यवसायी पेशाले कर्मचारीहरू मसँग नजिक हुन्थे । कुलमान घिसिङले मलाई एउटा गाडी पठाइदिनुभयो । असोजमा बाढी पहिरोले क्षति पु¥याएको अपर तामाकोशीको अवलोकनमा कुलमानले मन्त्री दीपक खड्कालाई लान खोज्नुभएको थियो । मन्त्रीको के काम प¥यो, मलाई ‘तपाईँ जानुस्’ भन्नुभयो । म कुलमानसँग अपर तामाकोशी गएँ । खोला बढेको छ । तपाईँ यता आउनुस् भनेको त कुलमानले ‘यो पोल ढल्यो भने दिनको आठ करोड घाटा हुन्छ’ भन्नुभयो । कुलमानले त्यसरी प्रतिबद्ध भएर काम गरेको प्रत्यक्ष देखेँ । तर, मन्त्री खड्काको नियत जतिखेर पनि कुलमानलाई हटाउने पाएँ । इमानदार, राष्ट्रको पक्षमा काम गरेको कर्मचारीको सपोर्ट गर्नु मेरो कर्तव्य हो ।

त्यसपछि उर्जामन्त्रीसँग तपाईँको दूरी बढ्यो ?
त्यसपछि त उहाँले कर्मचारीलाई मेरो कार्यक्रममा नजान निर्देशन नै दिनुभएछ । म जोस, जाँगर भएको जनजातिको छोरा हो । तर, ‘उस्तै त नक्कली, के लाउँछौँ झुम्के बुलाकी’ भनेर मैले उर्जामन्त्रीसँग कुनै प्रतिवाद गरिनँ । मलाई कतिखेर उर्जामन्त्रीबाट हटौँ भन्ने भइसकेको थियो । दीपक खड्काको भन्दा लामो राजनीतिक पृष्ठभूमि मेरो छ । उर्जामन्त्रीले कर्मचारीलाई चलाएको चलायै गर्नुभयो । उहाँले सल्लाहकार बनाएको प्रबल अधिकारीले पनि राजीनामा दिने अवस्था आयो । सभापति शेरबहादुर देउवाले बोलाएको एउटा छलफलमा मन्त्री खड्काले भन्नुभयो–खड्का लाइनमा मेरो बेइज्जत भयो । मलाई पत्रकारले खेदे । त्यहाँ महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो–गोर्खा लाइन भन्ने त थाहा थियो, खड्का लाइन त पहिलो पटक सुनियो ।

कांग्रेस–एमाले गठबन्धन अब के हुन्छ ?
बुद्ध भगवान, पशुपतिनाथलाई साक्षी राखेर मेरो सन्तान सोचेर भन्छु–ओलीसँग कांग्रेस सरकारमा सँगै बस्नु भनेको जानेर विष खाए सरह हो । ओलीले भएभरका निकायलाई एमालेकरण गर्दैछन् । एमालेले अघि बढाएका योजनालाई मात्रै बजेट दिइरहेका छन् । उनीसँग देश बनाउने कुनै भिजन छैन । सुगा रटाइजस्तो उखान टुक्का हानेर मात्र देश बन्दैन । ओलीको कार्यशैलीबाट जनतामा वितृष्ण छ । देशको आवश्यकता र जनचाहना के छ भन्नेबारे ओलीलाई कुनै चासो छैन । अब काँग्रेसले ओलीसँगको सहयात्रा तोड्नुपर्छ । प्रधानमन्त्रीकै लागि ओलीको प्रतिकार नगर्ने, ओलीले प्रधानमन्त्री दिइहाल्छन् भन्ने प्रलोभनमा देउवा बस्ने हो भने काँग्रेसलाई धेरै ठूलो क्षति पुग्छ । काँग्रेसले एमालेसँगको गठबन्धनमा तत्काल पुनर्विचार गर्नुपर्छ । हेर्दै जानुहोला आज पूर्णबहादुर तामाङलाई हटाउने ओलीले भोलि रमेश लेखक, आरजू राणालाई पनि हटाउनेछन् । ओलीको प्रलोभनमा परेर प्रधानमन्त्री खाउँला भनेर देउवाले आशै नगरे हुन्छ । ओलीले दिँदैनन् । भोलि हेरेको हे¥यै हुने अवस्था आउँछ । ओलीको विगत पनि त्यस्तै छ, पदका लागि जस्तोसुकै सहमति गर्ने, कार्यान्वयन गर्नुपरे धोका दिने ।

सात बुँदे सहमतिमा प्रधानमन्त्री आलोपालोको कुरा छ, प्रधानमन्त्री ओलीले पनि पटक पटक पद हस्तान्तरणको कुरा गरिरहनुभएको छ नि ?
जतिसुकै सहमति भए पनि ओलीले देउवालाई प्रधानमन्त्री दिँदैनन् । त्यस्तो कागज छाडिदिनुस् । विगत हेर्नुस् न्, ओलीले माओवादीसँग एकता गरेर के गरे ? तेत्रो युद्ध हाँकेर आएको बादल जस्तो नेतालाई प्रचण्डबाट छुटाए। सकिदिए । देउवा त असाध्यै इमानदार र सोझो नेता हो । भोलि ओलीले एमालेलाई कांग्रेसभन्दा ठूलो पार्टी बनाएर ठूलो दलको नेताको रूपमा आफैँ फेरि प्रधानमन्त्री बन्छन् । हाम्रो सभापति देउवा हेरेको हे¥यै हुने अवस्था आउँछ । ओलीले अहिले मलाई हटाएको होइन । म त काँग्रेसको सिपाहीको रूपमा काम गरेको हुँ । ओलीले वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई हटाएको हो, मलाई हटाएको होइन । यो देशको ठूलो पार्टी काँग्रेसले अब गम्भीर भएर सोच्नुपर्छ । युथ सेलिब्रेसनको नाममा कार्यकर्ता उतारेर एमालेले काँग्रेसलाई तर्साएको पनि हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्