काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले श्रमिकको श्रमको सम्मान गर्ने र श्रमिकहरूको आत्मसम्मान उच्च बनाउने न्यायपूर्ण र समतामूलक राज्य निर्माणका लागि सङ्घर्ष जारी रहेको बताएका छन् ।

श्रमिक दिवसको अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशको परिवर्तनमा श्रमिक वर्गको ठुलो योगदान रहेको छ तर परिवर्तनका लागि भएका ती आन्दोलन पश्चात् श्रमिकहरू ठगिएको बताए ।
उनले भने, ‘विश्वभर झैँ नेपालमा पनि श्रमिक आन्दोलनको इतिहास लामो र गौरवपूर्ण छ । राणा कालदेखी पञ्चायत विरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्नमा श्रमिक वर्गको सक्रिय भूमिका रहेको थियो । तर ती जनयुद्ध र आन्दोलनहरू पश्चात् हरेक पटक श्रमिकहरू झुठा आश्वासनहरूमा ठगिएका छन् ।’
श्रमिकहरू विगतको जस्तो आर्थिक रूपमा मात्र होइन, सामाजिक सांस्कृतिक र राजनैतिक रूपमा पनि शोषणको दुष्चक्रमा फसेको बताउँदै अध्यक्ष महतोले अब सम्पूर्ण स्वदेशी मजदुरहरू राष्ट्रिय मुक्ति क्रान्तिमार्फत विगतमा झुठा आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।














