काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिदेखि विवादमा तानिएकी नायिका सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरेको आलोचनाको बचाउ गरेका छन् ।

नेकपा एमाले निकट जिफन्टले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भुकुटिमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सत्तामा नहुँदै देखिएको उग्रता सत्तामै पुगेको भए के हुन्थ्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, कलाकार होस्, गायक होस्, चित्रकार होस् जोसुकैलाई पनि उनीहरूको प्रशंसा गर्ने बाहेकलाई त्यसको गीत नसुन्ने रे । नसुने नसुनोस् न तिम्रै कानमा कानेगुजी पलाउँछ, अरु के हुन्छ ?’
यसअघि हिजो पनि उनले एक कार्यक्रममा पनि पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका थिए । केहीदिनअघि एक टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री पन्तले पूर्वयुवराज पारस शाहका छोरा हृदयन्द्रमाथि गरेको टिप्पणीका कारण आलोचनाको सिकार बनेकी थिइन् ।
ओलीले भने, ‘एउटा गायकको गीत सुन्दैन । उनीहरूलाई गुड लुकिङ पनि भन्न नहुने, अनि के चाहिँ भनिदिने त । अभिनय वा कलाको क्षेत्रमा आयो भने त्यसले राम्रो गर्न सक्छ भन्न पनि नपाइने, अनि के चाहिँ भन्नुपर्ने ? हाम्रो व्यवस्था छैन पनि भन्न नपाइने, जे सुकै भए पनि उ हुनै पर्छ भनिदिनुपर्ने, कति असिहुष्णता होला ?’
यस्ता तत्त्वहरू फेरि जनताका टाउकोमा टेकेर फेरि रैती बनाउने सपना देखिएको भन्दै सतर्क हुनुपर्ने बताए ।