काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने बताएकी छन् ।

लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताइन् ।
‘एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबिच बुधवार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ’, उपाध्यक्ष घिमिरले भनिन्न , ‘प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरूको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।’
उनले महत्त्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरिन् । उनले भनिन्न , ‘प्रतिनिधिसभाले शिक्षा र निजामतिलगायका विधेयक पारित गर्नका लागि शनिवार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरू राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ ।’
उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरिन् ।
युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।