Logo
Logo

एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक


189
Shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदाता (डेलिगेट्स)को प्रथम नामावली सार्वजनिक गरिएको छ । उच्चस्तरीय समितिले बिहीबार गरेको निर्णय अनुसार निर्वाचन समितिले लगत्तै २ हजार ६४३ जना डेलिगेट्सको सूची सार्वजनिक गरेको हो । 

यसअघि समितिले वैशाख १५ गते निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरेर आवश्यक कागजातहरू पेश गरेका ६२५ जना डेलिगेट्सको नाम सार्वजनिक गरेको थियो  । 

निर्वाचन समितिका अनुसार जम्मा २ हजार ६४३ जना डेलिगेट्स मध्ये हालसम्म ६२५ जनाले मात्र तोकिएको कागजात बुझाइसकेका छन् । बाँकी रहेका डेलिगेट्सलाई शुक्रवार साँझ आवश्यक प्रमाण र दस्तुर सहित निर्वाचन समितिमा सम्पर्क गर्न समय दिइएको छ । 

तोकिएको समयमा निवेदन दिने व्यक्तिहरूको कागजात र दस्तुर निर्वाचन समितिले आवश्यक छानबिन गरी योग्य ठहरिएका डेलिगेट्सको नाम अन्तिम मतदाता नामावलीमा समावेश गर्ने निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

२ हजार ६४३ जना डेलिगेट्सको नाम समावेश गरिएको सूची निर्वाचन समितिको वेबसाइट  र गैरीधारा स्थित निर्वाचन समितिको कार्यालयको सूचनापाटीमा  हेर्न सकिने व्यवस्था मिलाइएको छ । 

डेलिगेट्सबारे कुनै दावी वा विरोध भएमा निर्वाचन समितिको इमेल  वा काठमाडौं गैरीधारास्थित निर्वाचन समितिको कार्यालयमा निवेदन दिन सकिने छ। २०१८ जना डेलिगेट्सको हालसम्म डकुमेन्ट पूरा नभएकाले शुक्रवार साँझ ७ बजेभित्र तोकिएको डकुमेन्ट बुझाउनु पर्नेछ । अन्यथा आवश्यक डकुमेन्ट बुझाउन नसक्नेले महाधिवेशन भाग लिन नपाइने जनाइएको छ । 

सर्वोच्चको एक वर्षअघिको परमादेशअनुसार शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकताको महाधिवेशन गराउन लागेको हो । एकताको महाधिवेशन वैशाख २० देखि २२ सम्म हुँदै छ । सोही महाधिवेशनबारे विवाद पनि रहेकाले अदालतमा मुद्दा समेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्