
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले उडिसा राज्यका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोन वार्ता गरेका छन् ।
कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएपछि उक्त घटनाबारे जानकारी लिन राजदूतले मुख्यमन्त्रीसँग कुराकानी गरेका हुन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर राजदूतले उडिसाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता गरेर शुक्रबार जारी गरेको जानकारी दिएको हो ।
‘घटनाका सम्वन्धमा राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गर्नुभएको छ,’ उल्लेख छ ।
केही महिनाअघि अर्की नेपाली छात्रा २० वर्षीया प्रकृति लम्साल केआईआईटीकै होस्टेलमा आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । उक्त घटना सेलाउन नपाउँदै फेरि अर्की नेपाली छात्रा सोही होस्टेलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
प्रिसा साह केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । उक्त घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न नेपाली दूतावासले जोड दिएको विज्ञप्तिमा जनाइएको छ ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट दूतावासलाई आवश्यक निर्देशन पनि प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
‘दूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले आज बिहान केआईआईटीका प्रतिनिधिलाई राजदूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको थियो ।’














