
काठमाडौं । अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । शीतल निवास पुगेर उपविदेशमन्त्री एलनुर मामेडोभले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।