Logo
Logo

वैदेशिक लगानीकर्तालाई प्रविधिमा लगानी बढाउन आग्रह


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको कार्यक्रममा ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरेका हुन् । 

मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने उनको भनाई रहेको छ । 

ओलीले भने, ‘हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविशवासका साथ काम गरौँ । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ ।’ 

प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैँमा जवाफ भएको टिप्पणी गरे ।

‘एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ । अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका एक सय एक हस्ती तयार भइसकेका छन्,’ उनले भने, ‘हामी आत्मविश्वासका अघि बढौँ । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौँ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लु बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको सुरुवात गरे । 

प्रतिक्रिया दिनुहोस्