काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले विगतमा नीति स्पष्ट गर्ने गरिए पनि यस पटक नीति तथा कार्यक्रम गन्तव्यविहीन, निरस र परम्परागत देखिएको बताए ।
उनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसद्मा नै प्रस्तुत गर्ने गरिन्थ्यो । यस पटक त्यस्तो छैन ।’ नेता पुनले विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट राख्ने अभ्यास बदल्न खोजिएको उनले बताए ।
सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि देखिन्छ । संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ,’ उनले भने ।
फरक पार्टीबाट ‘ट्युनिङ’ नमिल्ने राष्ट्रपति भएकोले पनि सरकारको नेतृत्व गरिरहेको एमालेले यस्तो नीति तथा कार्यक्रम बनाएको हुनसक्ने आशङ्का नेता पुनले व्यक्त गरे । उनले भने, ‘बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउँछ भन्ने लागेको छ ।’
नेता पुनले नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको कुरा स्पष्ट नआएकोले सरकारले के गर्न लागेको स्पष्ट नभएको प्रतिक्रिया दिए ।
‘भर्खरै शिक्षक आन्दोलनबाट फर्किएका छन्, शिक्षा क्षेत्रमा गर्नुपर्ने थुप्रै सुधार बारे केही आएन,’ उनले भने, ‘विकास निर्माण र पूर्वाधारमा गन्तव्य दिन सकेन ।’