काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरूका लागि तह लगाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

‘सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहिँ ल्याएको रहेछ,’ शाहीको भनाइ छ, ‘जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरूलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन। त्यो पहिलो पटक आएको छ।’
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताए ।
शाहीले भने, ‘युवाहरुको रोजगारीको विषय वस्तुनै आएन । अहिले सबैभन्दा ठूलो समस्या यही भयो । विशेष गरेर आन्तरिक सुरक्षाका कुरा, रोजगारीका कुरा आउनुपर्थ्यो यतिबेला केही पनि आएन । हुबहु छ, सुगा रटाइ छ ।’
उनले नीति तथा कार्यक्रम पुरानै ढर्रामा भएको कागजको खोस्टा जस्तो रहेको बताए । उनले भने, ‘सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहिँ ल्याएको रहेछ । जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरूलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन । त्यो पहिलो पटक आएको छ ।’
त्यसैले म भन्छु-अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तो सरकार तर्सिएको देखियो । किन भने लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा ल्याएको छ। भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नयाँ नियम बनेर आएको छ। यो चाहिँ विल्कुनै नयाँ हो। किनभने भ्रष्टाचारको विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर २ नम्बर पेजमा लेखेर राखिएको छ। त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनु पर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए,’उनले भने ।