काठमाडौं । निजी मेडिकल कलेजले आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफूहरू विरुद्धमा आन्दोलन गरेको भन्दै निजी मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले निजी मेडिकल कलेजहरूले प्रवेश रोक लगाएको जानकारी गराएका हुन् ।
काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको बताइएको छ ।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई आठौँ तहको सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
सोही अनुसार निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन मान्न अटेरी गरेपछि आयोगको १७ औँ बैठकले निजीको छाडेर सरकारीको मात्रै सिट निर्धारण गरेको थियो । आयोगको उक्त निर्णयपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनमा उत्रिएपछि निजी मेडिकल कलेजहरूले प्रवेशमा नै रोक लगाएका हुन् । यसअघि निजी मेडिकल कलेज सञ्चालकहरूको संस्थाले उक्त रकम दिने प्रतिबद्धता जाहेर गरेको थियो ।














