Logo
Logo

समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुन्छु : प्रचण्ड


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने सङ्कल्प लिएको बताएका छन् ।

शनिवार काठमाडौंको दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो अभियानले आफूमा थप उत्साह थपेको उल्लेख गर्दै सङ्गठन सुदृढीकरणका लागि कार्यकर्तालाई आह्वान गरे ।

‘सुशासन, सामाजिक न्याय र आर्थिक समानताका लागि दृढ सङ्कल्पसहित सङ्गठन निर्माण र विस्तारको आवश्यकता छ,’ उनले भने, ‘म अहिले ७१ वर्षको भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्दै समाजवादको आधार तयार पारेर मात्र यो जीवनबाट बिदा हुने सङ्कल्पमा छु । तपाईँहरूले पनि यस्तो आँट गर्नुभयो भने देशको राजनीतिक रङ्गमञ्च परिवर्तन गर्न सकिन्छ ।’

अध्यक्ष प्रचण्डले पार्टीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानले आशातीत सफलता हासिल गरेको दाबी गर्दै करिब एक करोड जनतासँग प्रत्यक्ष संवाद गरिएको जानकारी दिए ।

‘हामीले पार्टी केन्द्रको बैठकबाट अभियानको समीक्षा गर्‍यौँ । झन्डै दुई महिनासम्म तराई–मधेशमा अभियान सञ्चालन गर्‍यौँ। यो अभियान माओवादी केन्द्रको मात्रै नभई राष्ट्रिय अभियान बन्न पुग्यो,’ उनले भने ।

भ्रष्टाचार विरोधी अभियानका विषयमा बोल्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपालको इतिहासमै उल्लेखनीय काम गरेको दाबी गरे ।उनले आफ्नो नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि उल्लेखनीय प्रगति गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्