काठमाडौं । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिको मार्गमा दृढ रहेको बताएका छन् । शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल कसैको पक्षमा नझुक्ने र कुनै सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारे ।

‘हाम्रो कसैप्रति झुकाव हुँदैन, हामी कसैसँग संलग्न हुँदैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै मानवतावादी दृष्टिकोणबाट अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्दै अगाडि बढ्नुपर्छ ।’
उनले नेपालले युएनको बडापत्र, मानव अधिकार घोषणापत्र तथा अन्तर्राष्ट्रिय सम्झौता र सन्धिहरूलाई आत्मसात् गर्दै समानता र सम्मानका आधारमा सम्बन्ध विस्तार गर्ने बताउँदै राष्ट्रिय हितलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले वादविवाद वा अन्तर्राष्ट्रिय तनावको अवस्थामा नेपालले तटस्थ र संवादमैत्री भूमिका निर्वाह गर्ने जनाउँदै भने, ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन भन्ने नै नेपालको आधारभूत नीति हो ।’
उनले असंलग्न आन्दोलनका सिद्धान्तहरूलाई नेपालको विदेश नीतिको मेरुदण्ड भएको बताउँदै वर्तमान सरकार र पार्टी दुबै स्पष्ट नीतिगत आधारमा अघि बढिरहेको बताए । ‘हाम्रो आधार पोलिसी यही हो, जुन स्पष्ट छ र स्थिर पनि,’उनले भने ।