काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूको सक्रियता र जनसमर्थनले पार्टीको जित सुनिश्चित भएको दाबी गरेका छन् । काठमाडौंको फर्पिङस्थित दक्षिणकाली नगर समिति द्वारा आयोजित चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले २०६४ सालको निर्वाचन सम्झँदै अहिले पनि त्यस्तै उत्साह देखिएको बताए ।

उनले भने, ‘कार्यक्रममा महिलाहरूको उल्लेखनीय उपस्थिति र उत्साह देख्दा मलाई चुनाव जित्ने विश्वास मिल्यो । २०६४ सालमा पनि जब महिलाहरूको समर्थन प्राप्त भयो, तब हामीले ठुलो जीत हासिल गरेका थियौँ । महिलाहरूले परिवारै कन्ट्रोल गरेपछि हामी चुनाव जित्यौँ । अहिले पनि त्यस्तै लक्षण देखिँदैछ ।’
प्रचण्डले कार्यक्रममा महिलाहरूबाट खादा ओढाइने, हात मिलाउने जस्ता अभिवादनले आफू निकै उत्साहित भएको बताए। उनले काठमाडौं १० क्षेत्रबाट विगतमा जितेको स्मरण गर्दै अहिले पनि त्यस्तै परिस्थितिहरू विकसित भइरहेको उल्लेख गरे ।
पछिल्लो कार्यकालमा नेतृत्व गरेको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै प्रचण्डले केही विगतका गल्तीहरू स्वीकारे । ‘हामी समीक्षा गर्दै जनतामाझ गइरहेका छौं,’ उनले भने, ‘तराई–मधेशमा यसपटक मलाई असाधारण अभिनन्दन प्राप्त भएको छ ।’
उनले भ्रष्टाचारविरुद्धको नयाँ क्रान्तिको आह्वान गर्दै भने, ‘अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ, र यसको नेतृत्व माओवादी केन्द्रबाट मात्र सम्भव छ ।’














