काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच चुलिँदै गएको तनावको बीचमा भारतले पाकिस्तानबाट हुने सम्पूर्ण वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानबाट भारत आउने सबै वस्तुमा प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्ध तुरुन्तै लागू हुने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘विदेश व्यापार नीति २०२३ मा संशोधन गर्दै अर्को आदेश नआएसम्मका लागि पाकिस्तानबाट भारत आउने वा पाकिस्तानतर्फ निर्यात गरिने कुनै पनि वस्तुको प्रत्यक्ष वा अप्रत्यक्ष आयात प्रतिबन्धित गरिएको छ ।’
२२ अप्रिलमा कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश पर्यटक रहेका थिए । उक्त घटनापछि भारत र पाकिस्तानले एक-अर्काविरुद्ध कठोर कदम चाल्दै आएका छन्, जसले दुवै देशबीचको कूटनीतिक सम्बन्ध थप तनावग्रस्त बनाएको छ ।