काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीबीच देहरादूनमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ । दुवै प्रदेश प्रमुखबिच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले विविध विषयमा छलफल भएको हो ।

भेटवार्ताका क्रममा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानता र सहकार्यलाई केन्द्रमा राखेर विचारविमर्श गरिएको थियो । ‘नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा भौगोलिक सीमासम्म सीमित छैन, यो भावनात्मक र सांस्कृतिक गहिराइबाट पनि जोडिएको सम्बन्ध हो,’ मुख्यमन्त्री शाहले भने ।
दुवै नेताले परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीजस्ता विषयमा रहेको समानता आपसी सम्बन्धलाई अझ सुदृढ गर्न महत्त्वपूर्ण आधार भएको उल्लेख गरेका छन् । वर्षौँदेखि कायम आपसी एकता र विश्वासलाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता दुवैले व्यक्त गरे ।
भ्रमणका क्रममा मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल तथा कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटवार्ता गरी सम्बन्धित क्षेत्रको सहकार्यका सम्भावनामा पनि चर्चा गरेका थिए ।