काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेविरुद्ध लागेको मुद्दा राजनीतिक प्रतिशोधको हिस्सा भएको दाबी गरेकी छन् । उनले उक्त मुद्दामा कुनै कानुनी बल नरहेको पनि बताउँदै लामिछानेमाथि सुनियोजित ढङ्गले टालटुल गरेर मुद्दा बनाइएको आरोप लगाइन् ।

कास्की जिल्लाको रुपा गाउँपालिकामा आयोजित कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै सांसद गौतमले आफू सचेत नागरिक र कानुन अध्ययन गरेकी व्यक्तिका हैसियतले नै यस्तो धारणा सार्वजनिक रूपमा राखेको स्पष्ट पारिन् ।
‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौँ,’ उनले भनिन्, ‘तर म एक कानुनको विद्यार्थी भएको हैसियतले भन्न चाहन्छु — रवि लामिछानेमाथि लगाइएको मुद्दामा दम छैन। त्यो राजनीतिक प्रतिशोध हो, जुन टालटुल गरेर बनाइएको हो ।’
गौतमले न्यायालयप्रति विश्वास व्यक्त गर्दै लामिछानेले न्याय पाउने दृढ विश्वास रहेको बताइन् । ‘न्यायालयले पक्कै पनि रविजीलाई न्याय दिनेछ,’उनले भनिन्, ‘किनभने उहाँमा नेपाली जनताको ठुलो आशा र विश्वास छ ।’
सांसद गौतमले वर्तमान सरकारले रास्वपाले उठाएका महत्त्वपूर्ण मुद्दाहरू दबाउने प्रयास गरिरहेको आरोप पनि लगाइन् । उनका अनुसार, भ्रष्टाचारका विषयमा विगतमा जनताले जानकारी पाउने अवस्था थिएन, तर रास्वपाको उदयपछि यस्ता कुराहरू सतहमा आउन थालेका छन् ।
‘हिजो सुन्नै नपाइने भ्रष्टाचारका कुरा आज खुल्दै छन्,’ उनले भनिन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ अर्बको भ्रष्टाचार होस्, वाइडबडी विमान खरिद प्रकरण वा गिरिबन्धु कपडा उद्योग सम्बन्धी भ्रष्टाचार यी सबैमा रास्वपाले संसदीय छानबिन समितिबाट नजिर बसाइसकेको छ । तर अब ती छानबिनलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ ।’
भुटानी शरणार्थी प्रकरणमा पनि रास्वपाको योगदानले अनुसन्धान अगाडि बढेको दाबी गर्दै उनले भनिन्,’त्यो फाइल खुलिसकेको थियो, फेरि पनि हामीले खोजी जारी राख्यौँ। अब त्यो दबाउन दिइने छैन ।’
गौतमले वर्तमान सरकार १० महिनाको अवधिमा निरन्तर विवादमा मुछिएको र जनताको निराशा बढ्दो रहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् । ‘प्रत्येक दिन कुनै न कुनै घोटाला र विवाद बाहिर आउँदै छ,’ उनले भनिन्, ‘सरकारले परिणाममुखी काम गर्न नसकेको स्थिति छ। देशभर निराशा मात्रै फैलिएको छ। सरकार अझै सच्चिन आवश्यक छ ।’
सांसद गौतमका अनुसार, रास्वपाको मूल उद्देश्य जनताको विश्वास जित्नु हो र भ्रष्टाचारविरुद्ध निरन्तर सङ्घर्ष गर्नु हो । उनले पार्टीको अभियान रोक्न खोजिए पनि सत्यको विजय हुनेमा आफू ढुक्क रहेको बताइन् ।