काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीले रचनात्मक र सकारात्मक सुझावसहित कार्यक्रमको पक्षमा उभिने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले नीति तथा कार्यक्रमलाई राष्ट्रिय आवश्यकता अनुरूपको दस्ताबेजका रूपमा लिएको बताए ।
घिमिरेले भने, ‘हिजो संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल भयो । धेरैजसो विषयहरू राष्ट्रिय हितका छन् र हामीले पनि चाहेका एजेन्डाहरू समेटिएका छन्। त्यसैले हामीले सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेका छौँ।’
कांग्रेसले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सक्ने बजेट निर्माणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ । त्यस्तै, संसद्मा विधेयक निर्माणको गति सुस्त रहेको भन्दै कांग्रेसले त्यसलाई तीव्र पार्न सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ ।
‘विधेयक निर्माणमा गति छैन भन्ने महसुस गरेका छौँ,’ घिमिरेले भने, ‘त्यसले नीति कार्यान्वयनमा असर पारेको छ। अब कांग्रेसले यो विषयमा स्पष्ट भूमिका खेल्नेछ।’