Logo
Logo

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन : स्थानीयको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा काम


819
Shares

काठमाडौं । बाँकेको कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रशारण लाइन विस्तारमा लगातार स्थानीय अवरोध भएपछि सुरक्षाकर्मीको सहयोगमा काम अघि बढाइएको छ ।

शनिवार बाँकेको बैजनाथ गाउँपालिका–४ स्थित बानियाभार जङ्गल क्षेत्रमा टावर निर्माणमा स्थानीयले अवरोध गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षामा काम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनमा निर्माणस्थलमा सुरक्षाकर्मी खटाइएको हो । 

बानियाभार क्षेत्रमा रुख कटानको अनुमति भइसकेको भए पनि बारम्बार स्थानीयको अवरोधले गर्दा प्रहरीको सहयोगमा काम गर्नुपर्ने अवस्था आएको हो । 

हाल सो क्षेत्रमा तीन वटा टावर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । स्थानीयको अवरोधका कारण ती टावरहरूको निर्माण लामो समयदेखि रोकिएको थियो।

यसअघि पनि स्थानीय बासिन्दाले प्रशारण लाइनको विकल्प खोज्न माग गर्दै अदालतसमक्ष रिट दायर गरेका थिए । तर अदालतले रिट खारेज गरेपछि पनि उनीहरूले अवरोध जारी राखेका थिए । स्थानीयले कर्मचारी र मजदुरलाई गाउँमा प्रवेशमा रोक लगाएपछि प्रशारण लाइन विस्तारको काम प्रभावित भएको हो ।

उक्त क्षेत्र आसपास करिब २ सय रुख कटान गरिनुपर्ने छ भने तीन टावर निर्माणका कारण ७५ जना स्थानीयको जमिन तथा केही घरहरू प्रभावित हुनेछन् ।

विद्युत् प्रशारण लाइन निर्माण, डिजाइन, परीक्षण र वितरण कार्यको लागि २०७७ भदौ ७ गते सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी, सरकारी ढिलासुस्ती र स्थानीयको अवरोधका कारण काम समयमै सम्पन्न हुन सकेन ।

कोहलपुरदेखि सुर्खेतको सुब्बाकुना सवस्टेसनसम्म ५२ किलोमिटर दूरी रहेको प्रशारण लाइनको करिब १४ किलोमिटर हिस्सा निकुञ्ज क्षेत्रमा पर्छ ।

हालसम्म निर्माण गर्नुपर्ने १६१ टावरमध्ये १५७ टावर निर्माण भइसकेको र तार तान्ने काम जेठसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । 
प्रशारण लाइन विस्तारपछि सुर्खेत, दैलेख लगायतका कर्णाली क्षेत्रका जिल्लाहरूमा विद्युत् आपूर्तिमा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्