काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मकवानपुरको हेटौंडामा पछिल्लो एक घन्टामा २१.८ मिलिमिटर वर्षा भएको छ ।

हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
काठमाडौंको सुन्दरीजलमा ७.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३.६, काभ्रेको पाँचखालमा ४.६, चितवनको नारायणी फिल्ड अफिसमा ३.८, तनहुँको खैरेनीटारमा ५, स्याङ्जामा ५.८ मिलिमिटर वर्षा भएको छ ।
कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।














