Logo
Logo

भारत-पाकिस्तान तनाव चुलिँदै, निर्णायक कारबाही गर्ने मोदीको चेतावनी


3.7k
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमलाका जिम्मेवार आतंककारीहरू र उनीहरूका समर्थकहरूविरुद्ध ‘दृढ र निर्णायक कारबाही’ गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् ।

पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला प्रधानमन्त्री मोदीले शनिबार यस्तो चेतावनी दिएका हुन् । पहलगाम आक्रमण यता अहिले पनि सीमा क्षेत्रमा भारतीय र पाकिस्तान सेनाबिच गोलाबारी हुँदै आएको छ ।

एक महिनाअघि पहलगाममा भएको आतंककारी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ ।

यद्दपि, भारतले आक्रमण गरे प्रतिकार गर्ने पाकिस्तानले बताउँदै आएको छ । यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो भने कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने पाकिस्तानले जनाएको थियो ।
यसैबीच भारतले शनिबार पाकिस्तानबाट आयातमा रोक लगाउने घोषणा गरेको छ, जसमा ‘पाकिस्तानबाट उत्पन्न हुने वा निर्यात हुने’ सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिबन्ध लगाइएको छ ।

यसअघि नै भारतले पाकिस्तानसँगका सीमानाका तथा सबै हुलाक सम्पर्कहरू बन्द गरेको छ । साथै, पाकिस्तानको राष्ट्रिय झण्डा बोकेका जहाजहरूलाई भारतीय बन्दरगाहहरूमा डक गर्न अनुमति नदिने घोषणा भारतले घोषणा गरेको छ ।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतलाई थप चेतावनी दिएका छन् । उनले पहलगाम आतंकवादी हमलापछि निलम्बित गरिएको ‘सिन्धु जल सन्धि’को उल्लंघ्नमा सिन्धु नदीमा निर्माण हुने कुनैपनि संरचनामा प्रहार गर्ने बताएको छ ।

शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गरेका थिए । बैठकमा उनले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिएका थिए ।

भारतीय रक्षा स्रोतहरू अनुसार दुबै देशले नियन्त्रण रेखा (एलओसी)मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेको भारतीय मिडियाले जनाएका छन् । करिब १.५ करोड जनसंख्या रहेको मुस्लिमबहुल कश्मीर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ । तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्