
काठमाडौं । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएपछि सभामुख देवराज घिमिरेले नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् ।
साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन पनि सरकारलाई निर्देशन दिएका छन् ।
दुई महिनाको अन्तरालमा उक्त विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली छात्राको रहस्यमय मृत्यु भएको छ । गत फागुनमा प्रकृति लम्सालले कलेजको होस्टलमै मृत अवस्थामा भेटिएकी थिइन् भने गत बिहीबार राति प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।














