पाल्पा । सशस्त्र प्रहरीले किराना सामानको आडमा लुकाई छिपाई तस्करी गर्न लागिएको अवैध लत्ताकपडा सहितको एक ट्रक पाल्पाबाट नियन्त्रणमा लिएको छ । ट्रकमा १८ पोका कपडा लुकाएर म्याग्दी पठाउने प्रयास भइरहेको थियो ।

रुपन्देहीको भैरहवाबाट म्याग्दीतर्फ गइरहेको लु। १ ख ५४५३ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले वैशाख २१ गते राति १:३० बजे तानसेन नगरपालिका–१ राईडाँडा, सिद्धार्थ राजमार्गबाट नियन्त्रणमा लिएको हो ।
ट्रक नियन्त्रणमा लिँदा चालक फरार भएका छन् भने सहचालक मिखिल पुन (२०), बुटवल उपमहानगरपालिका–१३ बेलवासका बासिन्दा, पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म, पाल्पाबाट खटिएको टोलीले कारबाही गरेको हो । ट्रकमा खाद्यान्न तथा किराना सामानको विलबिजक भेटिए पनि लत्ताकपडाको कुनै कानुनी कागजात फेला परेको छैन ।
उक्त कपडा रुपन्देहीको सिद्धार्थनगर–४ गल्लामण्डीस्थित प्रतिक किराना स्टोरबाट म्याग्दीको बेनीस्थित सम्झाना ट्रेडर्सको नाममा बनाइएको किराना सामानको बिलमा लुकाएर पठाइएको थियो ।
बरामद ट्रक, लत्ताकपडा र पक्राउ परेका सहचालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।














