
काठमाडौं । नेपालको सत्ता राजनीति धरमराएका बेला भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मात्र होइन, अन्य दलका शीर्ष नेता गरी १९ नेतासँग भेटघाट गरे । तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर भारत फर्किनुलाई नेपाली राजनीतिमा महत्वका साथ हेरिएको छ ।
उनले संसद्िभत्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गरेका थिए । पहलगाममा आतंककारी हमलापछि नेपाल भ्रमणमा आएका चौथाइवालेको भ्रमणले आन्तरिक राजनीतिमा अन्य बाह्य शक्तिले नखेलोस् भन्ने नै बुझिन्छ । प्रमुख राजनीतिक दलका नेताहरूलाई विश्वासमा लिन पनि उनको यो भ्रमण भएको हो । ओली प्रधानमन्त्री भएको १० महिना पुग्दा पनि भारतले औपचारिक निम्तो दिएको छैन ।
परराष्ट्रमन्त्री आरजु राणासँग राखी बाँधेको सुमधुर सम्बन्ध भएका चौथाइवालेको नेपाल भ्रमणलाई अहिलेको अवस्थामा सामान्य मान्न सकिन्न । नेपालमा कांग्रेस र एमालेको गठबन्धनमा गडबड हुँदै गर्दा उनी आइपुुगेका थिए । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस एमालेले नेतृत्व गरेको सरकारसँग सन्तुष्ट छैन । यसर्थ, चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको छ ।
कुनै सरकारी संयन्त्र या राजनीतिक दलको औपचारिक निम्तो बिना आएका चौथाइवालेले सबैभन्दा धेरै राजनीतिक भेटघाट भने यसैपालि गरेका थिए । प्रतिनिधिसभाका अधिकांश दलका शीर्ष नेता र दोस्रो पुस्ताका नेताहरू भेटेका चौथाइवालेले नेपालको सत्ता–समीकरणबारे त्यति चासो राखेनन् । उनले मूलतः सीमा सुरक्षाको विषयलाई प्राथमिकता दिएका थिए ।
शुरुमै गृहमन्त्री रमेश लेखकबाट राजनीतिक भेटघाटको सुरुवात गरेका चौथाइवालेको प्राथमिकता सरकार होइन, सीमा सुरक्षा भएको संकेत गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री राणा, सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महामन्त्री गगन थापा र सरकारको प्रखर आलोचक कांग्रस नेतासँग भेट गरेका थिए ।
यी सबै भेटमा उनको एउटै प्राथमिकता थियो– पहलगाम घटनापछि भारतका पक्षमा नेपालको प्रस्ट समर्थनको प्रस्ताव आओस् र नेपाल भारतका सबै सीमा नाका कडाइका साथ चेकजाँच होस् । नेपालले यी दुवै इच्छा पूरा गरिदिएको छ । पहलगाम घटना भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादको लडाईमा भारतको साथमा नेपाल छ भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनबाटै समर्थन जनाइसकेका थिए । साथै, चौथाइवालेले गृहमन्त्री रमेश लेखकलाई भेट गरेकै दिन नेपाल भारतका सबै सीमा नाकामा कडाइ थालिएको थियो ।
यसबाट भारतले एकजना नेपालीसहित २७ जना नागरिकको ज्यान जानेगरी भएको पहलगाम घटनालाई गम्भीर रूपमा लिएको छ भन्ने पुुष्टि भएको छ । गत वैशाख ९ गते जम्मु–काश्मिरको पहलगाममा हमला भएपछि नेपालले उक्त घटनाको विरोध गरिसकेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेपछि भारतले पनि चौथाइवाले पठाइएको दाबी गरिएको छ ।
नेपालका राजनीतिक दलहरूले सो घटनालाई आतंकवादी हमला भन्दै विरोधमा उभिएका छन् । तर नेपालको असंलग्न परराष्ट्र नीतिका कारण घटनापछि आफूहरूले लिने कतिपय निर्णयमा नेपाल तटस्थ बस्छ कि भन्ने आशंका भारतलाई भएकै कारण चौथावालेलाई नेपाल पठाएको बुझ्नु कठिन छैन ।
यही मेसोमा नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणको सम्भावना पनि देखिएको छ । सगरमाथा संवादमा भारतीय नेताहरूको उपस्थितिले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण निर्धारण हुने कूटनीतिज्ञहरूको दावी छ । मोदी आफैले रसियाको भ्रमण स्थगित गरेका कारण ओलीको भारत भ्रमण तत्काल नहुने भएपनि चौथाइवालेले निकट दिनमा परिस्थिति अनुकुल भएपछि भ्रमणको निम्तो दिने बताएर बिदा भएका थिए ।
चौथाइवालेले दोस्रो दिन प्रतिपक्षी दलका नेताहरूलाई मात्रै भेटेका थिए । दोस्रो दिनको भेटघाटको सुरुवात उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासबाट सुरु गरेका थिए । त्यहाँबाट सिधै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर भेटघाट गरेका थिए । उनको खास भेटघाट नै पूर्वप्रधानमन्त्री मध्ये प्रचण्डसँग रहेको थियो ।
प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताको बैठक नै छोडेर प्रचण्ड चौथाइवालेसँग भेट गर्न गएका थिए । प्रचण्डको साथमा वर्षमान पुुन पनि भएकाले निकै लामो कुराकानी गरेका चौथावालेले सत्ता परिवर्तन भन्दा पनि नेपाल–भारत सीमा क्षेत्रमा नेपालको प्राथमिकता र पहलगाम घट्नाबारे कुराकानी गरेर बाहिरिएका थिए ।
चौथाइवालेसँग भेटघाट चलिरहेकै बेला प्रधानमन्त्री ओलीका तर्फबाट उनको सचिवालय र सत्ता साझेदार दल कांग्रेस सभापति देउवाले प्रचण्डलाई तारनतार फोन गरेका थिए । प्रचण्डले देउवाको फोन उठाए । देउवाले तीन दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे वार्ता गर्न फोन गरेको बताएका थिए । अघिल्लो पटक पनि तीन दलका शीर्ष नेताको बैठक राखे लगत्तैको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई बर्खास्त गरिदिएका थिए ।
यसपटक पनि यस्तै केही हुनसक्ने आशंका गरेर प्रचण्ड बैठकमा समय छैन भनेर टारिदिए । प्रधानमन्त्रीको तर्फबाट पनि अग्नी खरेलको फोन रिसिभ नगरी चौथाइवालेसँग बसेका प्रचण्डलाई देउवाको पनि फोन जाँदा भने खुशी भएर उठाएका थिए । तर समय नभएको भन्दै टारेपछि सत्ता पक्षलाई प्रचण्डको आनीबानीले झस्काएको थियो ।
प्रचण्डसँगको भेटपछि चौथाइवालेले कांग्रेसकै नेताहरू महामन्त्री गगन थापा, उदय शमशेर राणा, माओवादी नेताहरू उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनसँग भेट गरेपछि एमालेपनि शंकित बनेको थियो । लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग होटेल मेरियट्समा नै भेट गरेपछि मात्रै चौथाइवाले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
यी सबै भेटघाटपछि आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिने निष्कर्षसहित उनी फर्केका छन् । यसले गर्दा केही समय भारतकै कारण सत्ता तलमाथि होलाकि भन्ने चिन्तामा रहेका एमालेका नेताहरू अहिले ढुक्कले निदाउन थालेका छन् ।
चौथाइवालेको नेपाल आउनुमा हिन्दुराज्य वा राजसंस्था पुर्नस्थापनाका लागि भारतले उक्साएको छैन भन्ने पनि सन्देश दिएर गएका छन् । नेताहरुसँगको भेटमा उनले नेपालमा राजवादी र हिन्दुवादीहरूको आन्दोलनमा आफ्नो कुनै पनि समर्थन नभएको प्रस्ट पारेका थिए ।
भारतका विदेशमन्त्री एस. जयशंकरको अनौपचारिक दूत बनेर नेपाल आएका चौथाइवालेको भेटघाटको सबै चाँजोपाजो नेपालस्थित भारतीय दूतावासले नै मिलाएको थियो । दूूतावासकै पहलमा भेटघाटकालागि दलका प्रभावशाली तथा विश्वासिला नेताहरू छानेको थियो । यसका पछाडी नेपालका नागरिकलाई हिन्दु राज्यका लागि भारतले उक्साएका छैन भनेर सन्देश दिनुथियो ।











