Logo
Logo

अतिथिको भेषमा अपराधी, आईफोनको प्रलोभनमा यौनशोषण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विदेशी पर्यटकलाई नेपालमा ‘अतिथि’का रुपमा सम्मान गरिन्छ । तर, ग्रामिण क्षेत्रमा पश्चिमी देशका व्यक्तिलाई औधी मान गरिन्छ । तर, अतिथिको आवरणमा आउने कतिपय विदेशीको वास्तविक रुप भने अपराधीको हुने गरेको छ । गरिब देश नेपालमा सहयोगको प्रलोभनमा उनीहरुले अनेक किमिसका अपराध गरिरहेका छन् । ह्याकिङदेखि यौन दुराचारीमा समेत विदेशीको संलग्नता बढीरहेको छ ।

१६ औं पटक नेपाल आउँदा खुल्यो कोलेको धन्दा

इयान रोबार्ट कोले

गत वर्ष बेलायतमा ‘चाइल्ड प्रोनोग्राफी’को अभियोगमा पक्राउ परेर छुटेका इयान रोबार्ट कोलेसँग भेटिएको भिडियोमा पीडित बालक नेपालीजस्तो देखिएको थियो । सोही आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले यसबारेमा नेपाल प्रहरीलाई समेत पत्राचार गरिरहेको थियो । प्रहरीले त्यसबारे अनुसन्धान जारी राखेकै वेला कोले अघिल्लो शनिबार काठमाडौंमा रंगेहात पक्राउ परेका छन् ।
सोल्टीमोडस्थित मथुरा सदनमा अपार्टमेन्ट लिएर बसेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । उनको अपार्टमेन्टबाट तीन बालकलाई उद्धार गरिएको छ । ‘उनले आफू १६औँ पटक नेपाल आएको बताएका छन्,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘गरिब बालकहरूलाई सहयोगको आवरणमा उनले यौन शोषण गर्दै आएको खुल्यो ।’
०६५ सालदेखि आफू १६ पटक नेपाल आएको बताएका कोलेबाट धेरै बालक पीडित भएको प्रहरी आकलन छ । उनी यौन दुराचारकै लागि यसरी पटक–पटक नेपाल आएको प्रहरी अधिकारीहरूको भनाइ छ । बेलायतमा व्यवसाय गर्ने ५० वर्षीय कोले नेपाल आउनुअघि नै अपार्टमेन्ट ‘बुक’ गर्दथे । होटेलमा बस्दा गोपनीयता नहुँदा उनी अपार्टमेन्टमा बस्दै आएका थिए । अविवाहित रहेका कोले समलिंगीसमेत भएको खुलेको छ ।

बर्गर खुवाएर फसाइयो
प्रहरीका अनुसार दुई वर्षअघि ठमेलमा बर्गर खुवाएर उनी सडक बालकहरूसँग नजिक भएका थिए । ती सडक बालक पनि उनीबाट दुव्र्यवहारमा परे । पछि एक ट्याक्सीचालकमार्फत उनी धादिङको एक गाउँमा पुगे । त्यहाँ केही सहयोग गरेर बालकहरूलाई आफूले पढाइदिने तथा सहयोग गर्ने आश्वासनमा काठमाडौं ल्याएका थिए । उनीहरूलाई बानेश्वरमा राखेर दुव्र्यवहार गरे ।
यसपटक उनी गत २९ डिसेम्बरमा आएका थिए । आउनुअघि नै उनले सो अपार्टमेन्ट बुक गरिसकेका थिए । पहिला चिनजान भएकै ट्याक्सीचालकमार्फत धादिङकै गरिब बालकहरूलाई त्यहाँ ल्याएर उनले यौन शोषण गर्दै आएका थिए । उनीहरूलाई साइकल तथा मोबाइलसमेत किनिदिएका थिए । तर, दिएका भने थिएनन् । साइकल र मोबाइल दिने आश्वासनमा उनले शोषण गर्दै आएको हुन सक्ने प्रहरीको आशंका छ । उनको अपार्टमेन्टमा बालकहरूका लागि भनेर ल्याएको पाँचवटा आइफोन भेटिएको प्रहरीले जनाएको छ । कतिपयलाई अंग्रेजी सिकाउने नाममा आफ्नो अपार्टमेन्टमा राखेर शोषण गरेका थिए । उनको अपार्टमेन्टबाट प्रहरीले यौनशक्ति बढाउने औषधिका खोलसमेत बरामद गरेको छ । गरीब बालकसम्म पुग्न सहयोग गर्ने अन्य दुई नेपालीलाई समेत प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

समाजसेवीको आवरण
स्वीजरल्याण्डका नागरिक पेटेर क्रिश्चियन लान्जेन्डोर्फको पहिचान नेपालमा समाजसेवी तथा व्यवसायीका रुपमा थियो । चुच्चेपाटीमा ट्रिगर इन तथा भक्तपुरको दरबार स्क्वायरमा द हेरिजेट इन नामक होटल चलाउँदै आएका थिए । त्यस्तै, रसुवामा लाङटाङ एजुकेशन प्रोजेक्टमार्फत समाजसेवा गर्दै आएका थिए ।
बृद्ध उमेरमा नेपालमा बसेर यहाँ सामाजिक काममा सक्रिय रहेको भन्दै उनको पटक पटक सम्मान समेत भएको थियो । तर, उनको उदेश्य नेपालमा समासेवा र व्यवसाय भन्दा अर्कै छ र नेपालमा बस्नुको कारण समाजसेवा भन्दा आफ्नो फरक यौन चाहना पुरा गर्र्नु हो ।
उनमा फरक खालको यौन चाहना छ । विपरीत लिङगीसँग होइन, उनी कलिला बालकहरुसँग यौन क्रिडामा रमाउँछन् । नेपालका गरीब बालकहरुलाई आर्थिक प्रभावमा पारेर उनले यस्तो धन्दा गर्दै आएका थिए । अन्य देशमा यस्तो गतिविधि सम्भव नभएकाले उनी नेपाल आएका हुन् ।
उनै पेटेर ६ महिना अघि पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी मुद्दा चलाएकोमा उनी जेल चलान भइसकेका छन् । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार फेसबुकमार्फत चिनजान गरेका एक किशोरलाई होटलमा लगेर यौन दुराचार गरेका थिए ।
एजु–कोर स्वीस नेपाल नामक संस्थाका नाममा पनि उनी समाजसेवाको आवरण समेत लिएका थिए । तर, पक्राउ परेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
उनी जस्तै विदेशीहरु बारम्बार पक्राउ पर्दै आएका छन् । गत वर्ष चैतमा सिआइबीले नगरकोटको एक घरबाट क्यानेडियन नागरिक पेटर जोनलाई पक्राउ गरेको थियो । ३ विषयमा बिद्याबारिधी गरेका उनी स्ट्रिट किड्स इन्टरनेशनल नामक संस्थाका संस्थापक हुन् । युएन ह्याबिटेन्ट्सको प्रमुख भएर अफगानिस्तानमा समेत काम गरेका व्यक्ति हुन् । नेपालमा विगत ३ वर्षदेखि हिमालय कम्युनिटी फाउण्डेसन नामक संस्था स्थापना गरी समाजसेवाको आवरण लिएका थिए । नगरकोटमा एक घर भाडामा लिएका थिए । त्यही बालकहरुलाई लगेर उनले अवैध यौन गतिविधि गर्दै आएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो । हाल उनी जेलमा छन् ।
पर्यटक बनेरआएका ६३ वर्षीय अल्बर्ट गत वर्ष पक्राउ परे । बालयौन दुराचारको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई ठमेलको एक होटेलबाट बिहीबार नग्न अवस्थामा पक्राउ गरेको थियो । नेपाल घुम्नभन्दा पनि बालयौन दुव्र्यवहारको कुलतका लागि उनी नेपाल आउने गरेको प्रहरीले जनाएको छ । उनको कोठाबाट एक बालकलाई समेत उद्धार गरिएको थियो । उद्धार गरिएका बालकले आफूमाथि अल्बर्टले पटक–पटक यौन दुव्र्यवहार गरेको बताएका छन् ।
गत वर्ष नेपाल आउँदा अल्बर्ट केक खान ठमेलको एक पसलमा गएका थिए । केक पसलनजिकै एक किनारा पसल छ । त्यही पसलका बच्चालाई केक दिएर उनले चिनजान गरे । त्यसपछि फकाएर उनले होटेलको कोठामा लैजान थाले । यसपटक नेपाल आउँदा पनि उनले तिनै बच्चालाई भेट्न पसलमा गए । होटेलमा लिएर गई लुगा किनिदिने तथा मीठा खाने कुरा दिएर फर्कने गरेका थिए ।
जर्मन नागरिक भए पनि उनी १५ वर्षदेखि देशबाहिर बस्दै आएको सिआइबीले जनाएको छ । धेरैजसो समय उनी भारत र श्रीलंका बस्दै आएका थिए । खासगरी ठमेलमा ठुलो संख्यामा बालयौन दुराचारी पर्यटकहरु रहेको प्रहरी अनुमान छ ।

यौन दुराचारीको हब बन्दै नेपाल
०७३ यता मात्र नेपालमा १० जना विदेशी यौन दुराचारी पक्राउ परिसकेका छन् । गरीब बालकहरूलाई लक्षित गरी विदेशी यौन दुराचारीहरू पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । कतिपय समाजसेवाको आवरणमा नेपालमा बाल यौनदुराचारको अपराधमा संलग्न छन् । संयुक्त राष्ट्रसंघको उच्च पदमा पुगेका पेटनर जोन डालग्लिस तथा क्याडेडिन व्यापारी फेनविक म्याकन्टोससमेत नेपालमा पक्राउ परेका थिए । ‘विदेशी भन्नेबित्तिकै राम्रा हुन्छन् भन्ने सोच राख्नु हुँदैन,’ सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘कोही विदेशी सहयोगको नाममा बालकहरूसँग निकट हुन खोज्छन् भने अभिभावकहरू सचेत हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्